– रामजी बलामी
पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ दशैँलगतै ‘श्री प्रचण्ड’ मा रूपान्तरित भए । प्रचण्डले गत वर्ष दशैँको टीका बहिस्कार गरेर हानेको छलाङ एक वर्ष पनि टिक्न सकेन र यो वर्ष टीका ग्रहण गरे । टीकाको आर्शिवादले होला सायद, दशैँ अघिसम्म नेपाली काँग्रेससँग लम्पसार माओवादी केन्द्र दशैँ नसकिँदै एमालेको अँगालोमा बेरिन पुग्यो । यसलाई दुर्गामाताको आशीष भनौं या प्रचण्डको पोलिटिक्स ? तर माओवादी नेता गोपाल किराँतीले भने अध्यक्ष पुष्पकमल दाहाललाई कमरेड प्रचण्डबाट श्री प्रचण्ड बनेको भन्दै तिखो आलोचना गर्दै पार्टी फुटाउनेसम्मको चुनौती दिए । धन्न किँराती पछि हटे ।
नेकपा एमाले र माओवादी केन्द्र रातारात अंगालोमा बाँधिएपछि जनता मात्रै होइन कार्यकर्तादेखि नेताहरूसमेत ‘पोलिटिक्स प्र्याङ्क’ मा परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ता साझेदार प्रचण्डले अविश्वासको प्रस्ताव पारित गराएर प्रधानमन्त्रीको कुर्सी खोसेका थिए । अब तिनै ओलीसँग प्रचण्ड रातारात लहसिएपछि काँंग्रेसीहरू तीनछक पर्नु त स्वभाविक नै भयो । स्वयं प्रचण्डका औरेबौरेहरूसमेत जिल खाएर भन्दैछन्, ‘माओवादी प्रचण्डको एकल बिर्ता होइन ।’
बामपन्थीहरूको रातारात मिलनले लोकतान्त्रिकदेखि जातीय, क्षेत्रीय पार्टीहरूको खैलाबैला मच्चिएको छ । वर्षाैदेखि टाढिएका नेताहरूसमेत एउटा गठबन्धनविरुद्ध लड्न अर्काे गठबन्धनमा जुटिरहेका छन् । अप्रत्यक्ष रूपमा हेर्दा वाम एकताको हल्लाले नेता र पार्टीहरूबीच लमीको काम गरेको छ । हुन त जनताले वाम र लोकतान्त्रिक गरी दुई दलको मात्रै अस्तित्व चाहेको धेरै भैसक्यो । तर यो आकाशको फल झार्ने न कुनै अस्त्र बन्यो न कुनै माइका लाल जन्म्यो । तर तालमेल र गठबन्धनका नाममा जनता झुक्याउने र छक्याउनेहरू भने छयस्छयास्ती जन्मिए ।
राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ । व्यक्तिगत र पार्टीगत स्वार्थ पूर्तिका लागि जस्तोसुकै र जेसुकै गर्न पनि चुक्दैनन् नेताहरू । स्वार्थ नमिल्दा च्वाट्टै छिनाउने कुरा गर्छन्, स्वार्थ मिलेपछि नाङ्गै लम्पसार पर्छन् । पछिल्लो समय माओवादीले यो चरित्र छर्लङ्ग पार्दै आएको छ । आफू प्रधानमन्त्री हुनकै लागि बिना कुनै आधार र कारण नै रातारात ल्याएको अविश्वासको प्रस्तावदेखि बाम गठबन्धनसम्मको नाटक माओवादीको असली चरित्र हो । माओवादीका आजीवन अध्यक्ष प्रचण्डले निजी कम्पनीसरह माओवादीको ‘युज’ गरिरहेका छन् र अहिले पार्टीको प्राण हिकहिक गरिरहँदा वाम गठबन्धनको स्वास लिइरहेका छन् ।
‘वाम एकता काम गर्न कि हाम गर्न ?’ भन्ने यतिबेला जल्दोबल्दो जिज्ञासा बनेको छ । वाम एकता केवल हाम गर्नका लागि अघि सारिएको षडयन्त्र भन्यो भने फुस्रा टिप्पणीको आरोप लागाउलान् । र काम गर्नका लागि भन्यो भने हास्यास्यद लाग्लाल् । वाम एकता आजको आवश्यकता हो तर पनि ओली र प्रचण्डको अपर्झट मिलनका पछाडि अनेकन आशंकाका चाङ छन् जुन अपत्यारिला छैनन् । प्रचण्ड पोलिटिक्स बुभ्mनेले कसै गरेर पनि वाम एकता पत्याइरहेका छैन्न किनभने उनको स्वार्थ सम्बन्धका अनेक पाटाहरू छन् । यसका सबैभन्दा गतिला साक्षी हुन बाबुराम भट्टराई । प्रचण्डले आप्mनो स्वार्थ पूर्तिका लागि के सम्म गर्न चुक्दैनन् भन्ने कुरा माओवादीका उच्च पदस्थ नेता कार्यकर्ताहरूलाई कण्ठस्तै छ । त्यसैले पनि होला, कतिपय नेता कार्यकर्ताहरू वाम एकता उवाच सुन्ने बित्तिकै मुसुमुसु हाँसिरहेका छन् ।
अहिलेको जल्दोबल्दो जिज्ञासा भनेको चुनावपछि पार्टी एकता होला या नहोला ? भन्ने नै हो । माओवादी अध्यक्ष प्रचण्डको विगत व्यवहार र पहिलो संविधान सभाताका सार्वजनिक गोप्य प्रशिक्षणका भिडियोहरू अध्ययन गर्दा एमाले माओवादी एकता ‘ए कता’ बन्ने सम्भावना प्रबल देखिन्छ । स्वार्थ अनुकूलित राजनीति गर्न चतुर दाहालले आफ्नो राजनीतिक वर्चस्व टिकाउनका लागि मात्रै वाम अस्त्र चलाएको हो कि भन्न गाह्रो पर्दैन । स्थानीय चुनावमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर सोचे जस्तो परिणाम नआएपछि असिनपसिन दाहाल वाम अस्त्रमार्फत एमालेलाई फकाएर प्रतिनिधिसभामा आफ्नो औकात बलियो पार्न चाहन्छन् । प्रचण्डको वाम अस्त्रले एमालेलाई छोएको मात्रै छैन, मुटुमै ड्याम्म लागेको छ ।
यदि त्यो अस्त्र प्रहार नहुँदो हो त एमालेले कुनै हालतमा माओवादीसँग चुनवबी तालमेल गर्ने थिएन । स्थानीय चुनावमा समेत हिक्कहिक्क गरी झिनो सिट हात पारेको माओवादीले प्रदेश र प्रतिनिधि सभाको चुनाव जित्न असम्भवप्रायः थियो । तर अब एमालेले ब्याकबोनको काम गरेपछि माओवादीलाई हाइसन्चो भएको छ । वाम एकताको पोजिटिभ थिंकिङमा झुमिरहेको एमाले चुनावपछि ट्वाँ पर्लान् वा पोजिटिभ रिजल्ट हात पार्लान्, त्यो त प्रचण्डको हातमा छ । तर प्रचण्डको विगत व्यवहार र माओवादीभित्रको असन्तुष्टि हेर्दा एमालेले जिल खाएर उत्तानो पर्ने सम्भावना बलियो छ ।
एकअर्कालाई सिध्याउन समेत तम्तयार ओली र प्रचण्डको मिलनका पछाडि सत्ता स्वार्थ पनि एक हो । माओवादीलाई कांग्रेसबाट छुट्याउने र सत्तामा पुग्नका लागि अहिले माओवादीलाई शरण दिएको कुरा पनि नकार्न मिल्दैन । नेपाली कांग्रेससँग माओवादीको दिगो सम्बन्ध स्थापित हुने हुन् कि भन्ने डरले एमालेलाई भतभती पोलिरहेको थियो । यदि त्यसो भएमा सत्ताबाट आफू सदैव टाढा बस्नुपर्ने एमालेको चिन्ता थियो । जनमत जितेर एकल सरकारको नेतृत्व गर्नेतर्फ भन्दा पनि तात्तातो सरकारमा चढ्ने एमालेको लालसाकै कारण यो मिलन सम्भव भएको हो । एकातिर आगामी चुनावमार्फत आउट हुने माओवादीको डर र अर्काेतिर एमालेको सत्तामोह जसले यी दुईलाई मेल गरायो ।
अतः अब यी दुई पार्टीबीच एकता भैहाल्यो भने नेपालकै लागि हितका कुरा भयो तर कथम्कदाचित चुनावी तालमेलमै सीमित भयो भने चाँहि एमालेको टाउकोमा बज्रपात पर्नेछ । त्यसलाई न मदनले स्विकार्न सक्छ न त मुनाले नै ।
[email protected]































प्रतिक्रिया