मुलुक हल्लाउन सक्ने देउवाका सम्भावित ५ कदम (भिडियो रिपोर्ट)

मुलुक हल्लाउन सक्ने देउवाका सम्भावित ५ कदम (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

दिवस गुरागाईं । काठमाडौं, २५ असोज ।

यतिबेला नेपाली राजनीतिमा चासो हुनेहरू नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भावी कदम पर्खेर बसेका छन् । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा बाम गठबन्धन बनेपछि खासगरी नेपाली कांग्रेसले के गर्छ भन्ने चासो हुनु अस्वभाविक होइन । किन पनि भने सरकारको चावी देउवाको हातमा छ । र, स्रोतका अनुसार बाम गठबन्धन बनेकाले उनी मंसिरको चुनाव सम्झेर त्रसित बनेका छन् ।

हार्ने चुनाव जसरी पनि टार्नुपर्छ भन्ने सामान्य मान्यता हो, राजनीतिज्ञको । भनिन्छ, देउवा मंसिरको चुनाव कुनै न कुनै बहाना सिर्जना गरेर सार्ने सोचमा छन् । देउवाका हरेक कदमले आगामी मंसिरको चुनाव प्रभावित हुन सक्छ । यही कारण हामीले प्रधानमन्त्री देउवाका सम्भावित भावी कदम उल्लेख गरेका हौं । हेर्नुस्, यस्ता छन् देउवाका सम्भावित ५ कदम, जसले नेपाली राजनीतिलाई हल्लाइदिन सक्छन्–

१. लोकतान्त्रिक गठबन्धन बनाउने ।
खासगरी प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सरकारमा सहयात्री नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गर्नेे घोषणा र पार्टी एकतासम्मको गृहकार्य सुरु गरेपछि नेपाली कांग्रेसले कडा प्रतिक्रिया व्यक्त गरिरहेको छ । उसले यस गठबन्धनलाई अप्राकृतिक र अनैतिक मात्र भनेको छैन, यो गठबन्धनले लोकतन्त्रलाई खतरा पुग्नेसम्म निष्कर्ष सार्वजनिक गरिसकेको छ ।

यही मेसोमा उसले बाम गठबन्धनकै सिको गर्दै लोकतान्त्रिक गठबन्धन गर्ने निर्णय गरेको छ । र, यसको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । देउवाले पूर्वपञ्च र मधेसवादी दललाई यस गठबन्धनमा सामेल गर्न राजी गरिसकेको बताइएको छ ।

२. लोकतन्त्रवादीहरूको सरकार बनाउने ।
लोकतान्त्रिक गठबन्धनसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट सहभागिता बिनाको सरकार बनाउने गृहकार्यलाई तीव्रता दिएका छन् । सत्ता घटक माओवादी केन्द्रले सरकार छोड्ने निर्णय गरे पनि बहुमत सांसद तयार गरेर राख्ने देउवाको यो कदम सफल उन्मुख देखिन्छ । उनले पूर्वपञ्च र मधेसवादी दललाई फकाइरहेका छन् ।

३. साना दलहरूलाई पार्टीमा समाहित गराउने ।
बाम गठबन्धन जस्तै लोकतान्त्रिक गठबन्धन बनाउने कार्यलाई मात्र होइन, देउवाले मसिना दलहरूलाई पार्टीमा समाहित गराउनेसम्मका तयारी सुरु गरेका छन् । यस कार्यमा सबैभन्दा पहिला उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई ताकेका छन् । उपसभापति पाए कांग्रेसमा विलीन हुन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ‘ग्रीन सिग्नल’ दिइसकेको स्रोतको दावी छ । बाम पार्टीमा अटाउन नसक्ने पार्टीहरूलाई देउवाले पहिलो निशाना बनाएका हुन् ।

४. मन्त्रिमण्डल पुनर्गठन र सरकारबाट माओवादीको विदाइ
राजनीतिक पण्डितहरू भन्छन्, ‘प्रधानमन्त्री देउवाले कुनै पनि बेला माओवादी मन्त्रीलाई बर्खास्त गर्न सक्छन् ।’ कानुनी हिसाबमा प्रधानमन्त्रीलाई यो बाटो सहज छैन । तर पनि उनले विपक्षीहरूलाई ‘डिफेन्स लाइन’ मा राख्नका लागि भनेर पनि यस्तो कदम चाल्न सक्छन् । एकथरीको आरोप छ, ‘उनले चुनाव सार्ने वातावरण तयार गर्न यस्तो कदम चाल्न सक्छन् ।’

त्यसो त सरकारलाई समर्थन गर्ने दल र तिनीहरूको सांसद संख्या जोड्ने हो भने देउवाले ‘भ्यागुताको धार्नी’ पूरा गरिसकेका छन् । जस्तो, कांग्रेस– २०७, राजपा– २४, संघीय समाजवादी फोरम– १५, राप्रपा– १९, राप्रपा (प्रजातान्त्रिक)– १८ र फोरम लोकतान्त्रिक– १७ गरी उनले ३ सय सांसद भेला गरिसकेका छन् ।

५. चुनाव सारेर चैत वा वैशाखमा पुर्याउने
लोकतान्त्रिक गठबन्धन बनाए पनि र सरकारबाट माओवादीलाई हटाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिए पनि सम्भावित चुनावी परिणामप्रति प्रधानमन्त्री देउवा विश्वस्त हुन सकेनन् भने मंसिरमा चुनाव नहुने पक्का जस्तै छ । २३ असोजमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दूत बनाएर राष्ट्रपतिसमक्ष चुनाव सार्ने प्रस्ताव पठाउने देउवाले आगामी चैत वा ०७५ वैशाखमा चुनाव गर्ने कदम चाले भने त्यो अनौठो हुने छैन । भनिन्छ, नेपाली कांग्रेसले चुनावी तयारीभन्दा चुनाव सार्ने रणनीतिलाई पहिलो प्राथमिकतामा राखेको छ ।

Logo