विश्व कम्युनिस्ट आन्दोलनलाई तरंगित बनाउने मदन भण्डारी

विश्व कम्युनिस्ट आन्दोलनलाई तरंगित बनाउने मदन भण्डारी

केन्द्रबिन्दु
0
Shares

नेपाली राजनीतिका जाज्वल्यमान नक्षत्र कमरेड मदनकुमार भण्डारी २०५० साल जेठ ३ गते हामी माझबाट सदाका लागि अस्ताउनुभयो। चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा उहाँसँगै कमरेड जीवराज आश्रितको पनि देहावसान भएको थियो। उक्त दुर्घटना अहिलेसम्म रहस्यमय बनेको छ।

श्रदेय कमरेड स्वर्गीय मदनकुमार भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानबारे संक्षेपमा चर्चा गर्न चाहन्छु।

कमरेड मदनकुमार भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकला भण्डारीका पाँच भाइ छोराहरुमध्ये उहाँ माइला छोरा हुनुहुन्थ्यो। उहाँका चार दिदीबहिनी छन्।

उहाँका श्रीमती र दुई छोरीहरु छन्। २०१५ सालमा जन्मथलो ढुंगेसाँघुबाट उहाँले पढाइ सुरु गर्नुभएको थियो। उहाँले भारतको बनारसमा स्नातकोत्तरको अध्ययन पूरा गर्नुभएको थियो। 

पढाइको सिलसिलामा बनारस बस्ने क्रममा उहाँ राजनीतिप्रति आकर्षित हुन थाल्नुभयो। २०२४ सालदेखि  माक्र्सवादप्रति आकर्षित भई उहाँ पुष्पलाल समूहमा संगठित हुनुभयो। फलस्वरुप उहाँ २०२९ सालमा पुष्पलालको जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बन्नुभयो।

 आफू संगठित हुँदै र, अरुलाई संगठित गर्दै उहाँ पञ्चायती शासकले जनतालाई गरेको अन्याय, अत्याचार, शोषण, दमनको समूल अन्त्य गर्ने महान अभियानमा निरन्तर लाग्नुभयो । उहाँले आफूलाई अग्रभागमा राखेर पार्टीको सांगठनिक गतिविधि अगाडि बढाइरहनुभयो।

पञ्चायती सरकारले भने अझ उदण्ड, दमनकारी र उग्र भएर आफ्ना संयन्त्र परिचालन गरेको थियो। यस्तो अवस्थामा पनि कमरेड मदन भण्डारीले भूमिगत जीवन व्यतीत गर्दै जनतामाझ जानुभयो।

उहाँ भूमिगत कालमा सागर, लोकेश, बर्बरिक, मकुम, पखेती, बीबीआर, श्वेतशार्दुल, जीवन, जीवन शर्मा, राजमोति आदि नामबाट कार्यकर्ता र जनतामाझ परिचित हुनुभयो।

त्यसबेला देश जर्जर बन्दै थियो, समय जटिलतातिर मोडिँदै थियो। त्यस बेला विभिन्न समूहमा विभक्त कम्युनिस्ट पार्टी आ–आफ्नो ढंगले आ–आफ्ना ठाउँमा संघर्षरत थिए।
 परिस्थिति विषम बन्दै गएको थियो त्यस बेला। मदन भण्डारी र समकालीन सहयोद्धाहरुबीच एकआपसमा एकताका निम्ति घनीभूत छलफल आगडि बढिरहेको थियो। 

समयको मागलाई मध्यनजर राख्दै छरिएर रहेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले २०३२ सालमा ’कोर्डिनेसन. केन्द्र’ (कोके) को निर्माणकार्य सम्पन्न भएको थियो। यसले देश, विदेशका क्रान्तिकारी कम्युनिस्टहरुलाई उत्साहित तुल्याएको थियो। 

यो निकै दुरगामी महत्वको घटना थियो। कमरेड मदन भण्डारी कोकेको केन्द्रीय सदस्य हुँदै २०३५ सालमा मालेको केन्द्रीय सदस्य, २०४१ सालमा पोलिटब्युरो सदस्य, २०४६ सालको चौथौ महाधिवेशनबाट महासचिव, २०४७ सालमा माले–माक्र्सवादीबीच एकीकरणपछि एमालेको महासचिव र २०४९ सालको पाँचौं महाधिवेशनबाट पुनः महासचिव पदमा निर्वाचित हुनुभयो।

जीवनको लामो उतार–चढावसँगै नेपाली राजनीतिमा चर्चाको शिखर पुग्न सफल व्यक्तित्व कमरेड मदन भण्डारी प्रखर वक्ता, कुशल संगठक र राजनीतिक चिन्तक हुनुहुन्थ्यो। मूलतःः २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चलगायत देशभरका विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा तेजस्वी, मृदुभाषी, ओजपूर्ण शव्दले ओतपोत भाषणले उहाँले सारा कार्यकर्ता र नेपाली जनतालाई मन्त्रमुग्ध बनाउनुभयो।
 
त्यति मात्र होइन, सार्वजनिक सभाबाटै राजालाई जनताको छोरासँग चुनाव लड्ने चुनौती दिँदै महाराजधिराजलाई श्रीपेच खोली चुनावी मैदानमा उत्रिन आह्वान गरिपछि उहाँको लोकप्रियता उचाइमा पुग्यो।

सार्वजनिक सभाबाटै राजालाई जनताको छोरासँग चुनाव लड्ने चुनौती दिँदै महाराजधिराजलाई श्रीपेच खोली चुनावी मैदानमा उत्रिन आह्वान गरिपछि उहाँको लोकप्रियता उचाइमा पुग्यो।

जननेता मदन भण्डारी वास्तवमा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो। उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटा नयाँ मोडमा पुर्याउनु भयो भने विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ तरंग सिर्जना गरिदिनु भयो।

त्यसबेला विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको थियो। सोभियत संघमा कम्युनिस्ट पार्टीको विघटनले दुनियाँभरका कम्युनिस्ट पार्टीहरु तिलमिलाइ रहेका थिए। यी सबै घटना परिघटनाका कारण कमरेड मदन भण्डारीले नेपाली विशिष्टताको आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग “जनताको बहुदलीय जनवाद” सिद्धान्त प्रतिपादन गर्नुभयो। यो सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले आत्मसात गर्याे।

संविधानको सर्वोच्चता, बहुदलीय खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पुँजी र प्रविधि, विदेश नीति, नेतृत्व र अधिनायकत्व जबजका विशेषता हुन्। जबजले अघि सारेका यिनै सिद्धान्तका आधारमा २०४८ सालको आमनिर्वाचनमा काठमाडौंका २/२ निर्वाचन क्षेत्रबाट कमरेड मदन भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई पराजित गरी अद्भूत विजय हासिल गर्नुभयो।

 साथै सिंगो पार्टीलाई प्रमुख प्रतिपक्षको रुपमा स्थापित गर्न सफल हुनुभयो र, उहाँको सर्वत्र प्रशंसा मात्र भएन, संसारभर चर्चा फैलियो। यसरी कमरेड मदन भण्डारीद्वारा अघि सारिएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम ‘जनताको बहुदली जनवाद’ले पहिलो संसदीय प्रतिस्पर्धामा नै अभूतपूर्व सफलता हासिल गर्याे। जबज नेपाली समाजका लागि एक कोशेढुंगा थियो।

बिडम्वना, कमरेड मदनकुमार भण्डारीको अनायसै यात्रामा पूर्णबिराम लाग्यो, २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटना भई मृत्यु भयो। यो दुर्घटना थियो या सुनियोजित हत्या थियो अहिलेसम्म जनमानसको मन– मस्तिष्कमा चासो र जिज्ञासाको विषय बनिरहेको छ।

जननेता स्वर्गीय मदन भण्डारीको जति चर्चा गरे पनि अपूरै रहन्छ। नेपाली कम्युनिस्ट आन्दोलनको आरोह–अवरोहमा उहाँको विशिष्ट योगदान रहेको छ। उहाँले विभिन्न कालखण्डमा निर्वाह गर्नुभएको भूमिकालाई स्मरण गर्नुपर्दछ। चाहे राष्ट्रियताको सन्दर्भमा होस् या देश र जनताका भाग्य, भविष्य एवं समृद्धिका सन्दर्भमा होस्, उहाँको उत्कृष्ट मान्यतालाई आत्मसात गर्नैपर्दछ। 

आज मात्र होइन, हिजोदेखिको भारतीय मिचाहा प्रवृत्तिविरुद्ध उहाँले देखाएको साहसलाई उच्च सम्मान गर्नै पर्दछ। यही सन्दर्भमा २०४९ साल साल चैत २४ गते संसदमा कमरेड मदन भण्डारीले टनकपुरका बारेमा राखेका विचार अहिले पनि सान्दर्भिक छन्।

उहाँको साहस र बिचारलाई सबै नेता कार्यकर्ताले अनुसरण गर्नुपर्दछ। कमरेड मदनकुमार भण्डारीद्वारा प्रतिपादन  सिद्धान्त जनताको बहुदलीय जनवादकै  कारण अहिले नेपालका कम्युनिस्ट पार्टी चाहे आफूलाई क्रान्तिकारी ठानी कुनै बेला युद्धमा होमिएका हुन् या विभिन्न समूहमा रहेका हुन्, यी सबै संसद्मा उपस्थित छन्। 

जनताका प्रिय नेता कमरेड मदन भण्डारीले निर्माण गरेको नेकपा एमाले र नवीनतम विचार जनताको बहुदलीय जनवादका कारण आज  संसद्मा एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गरिरहेको छ। 

यस बेला पार्टीलाई एकताबद्ध बनाई समाज रुपान्तरण गरी राष्ट्रलाई समाजवादमा पुर्याउने भूमिकामा शीर्षनेता र कार्यकर्ता हुनुपर्नेमा पार्टीबाटै निर्वाचित सांसदहरुले पार्टीको निर्देशनविपरीत विपक्षीलाई सहयोग पुग्ने कार्य गर्नु, निर्देशनको उल्लंघन गर्नु मदन भण्डारी कमरेडको विचार र सिद्धान्तप्रति अपमान गर्नु हाे, पार्टीलाई धोका र जनताप्रति गद्दारी गर्नु हो। 

यस्ता गतिविधिले  कमरेड मदनकुमार भण्डारीप्रति  श्रद्धाञ्जली पनि हुँदैन र, उहाँको विचारको सम्मान पनि हुँदैन। तर, गद्दार र धोकेबाजहरुले बेइमान गरे पनि नेकपा एमालेका सच्चा नेताकार्यकर्ताले कमरेड मदन भण्डारीको विचार अनुसरण गरिरहने छन् र,  सम्मान पनि गरिरहने छन्।

(लेखक नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन्)

Logo