म स्वास्थ्य क्षेत्रको व्यक्ति होइन, न कोरोनाबारे खोज–अनुसन्धान नै गरेको छु मैले। यसअघिको पहिलो लहरमा म संक्रमित भएको थिइनँ। पहिलो लहर होस् या अहिलेको यो दोस्रो लहर, केवल ऐना कार्यक्रममार्फत् कसरी समाज परिर्वतन गर्न सकिन्छ भन्ने हाम्रो ध्येय थियो।
वैशाख ९ गते ऐनको सुटिङ गर्दागर्दै मलाई एकदम साह्रो पार्याे, जबकी वैशाख १५ गतेभित्र सबै सुटिङ सिध्याउने तालिका तय गरिएको थियो। तर, सकिएन।
ऐना कार्यक्रमका सञ्चालक विश्वप्रकाश शर्मा दाइ र म दुवै संक्रमित हुन पुग्यौं। यस पटकको संक्रमणको पीडादायक अनुभव रह्यो मेरा लागि।
सुरुमा ज्वरो आएको थियो, तीन दिनसम्म औषधि खाएर घरमै सुतेँ। तर, ज्वरो ओर्लिएन। त्यसपछि पाँचौं दिन अस्पताल गएँ म। डाक्टरले परीक्षण गर्दा फोक्सोमा पानी जम्नुका साथै निमोनिया भएको पत्ता लाग्यो।
पिसिआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो। तत्काल टेकु अस्पतालको आकस्मिक कक्षमा भर्ना भएँ। संयोग के जुर्याे भने त्यसबेला टेकु अस्पतालमा त्यति भिड थिएन। लगातार पाँच दिनसम्म म अक्सिजनको सहारामा बाँच्न सफल भएँ।
गत वर्ष कोरोना पहिलो लहरमा प्रत्यक्ष सम्पर्कमा रहेका सबै साथीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, त्यसबेला मलाई र कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्मा दाइलाई भने संक्रमण देखिएन्। यसपटक भने हामी दुईजनालाई मात्र संक्रमण देखियो, अरुलाई देखिएन।
मलाई आश्चर्य लागेको छ– हामी सँगै रहेका अन्य साथीहरुलाई संक्रमण देखिएन, हामीलाई मात्र देखियो। उनीहरुलाई गत वर्ष संक्रमण भइसकेकाले प्रतिरोधात्मक क्षमता बढेर यसपालि संक्रमण नदेखिएको हो कि!
पछिल्लो समय नयाँ भेरियन्टले संक्रमितलाई बढी असर गर्ने गरेको मेरो अनुभव छ। संक्रमणपछि निमोनिया हुने, स्वाद–गन्ध हराउने, फोक्सोमा पानी जम्नेजस्ता समस्या देखिएका छन्। अक्सिजन लेभल घट्ने भएकाले मृत्युदर बढिरहेको छ।
म आफैंले पनि अक्सिजन लेभल घट्दाको अनुभव बटुलेँ। तीन दिनभित्रमै मानिसलाई अन्तिम अवस्थासम्म पुर्याउँदो रहेछ संक्रमणले।
आँखै अगाडि इलामको साथीको मृत्यु भयो। संक्रमणपछि दस दिनसम्म पनि थेग्न सकेनन् उनले। धन्न म दुई दिनअगावै अस्पताल पुगेछु र, बाँचेँ।
अस्पतालमा संक्रमित थपिरहेका थिए। दिनहुँ मृतक संख्या पनि थपिँदै जान थाल्यो। यसले चाहिँ मलाई तनाव दियो। अन्य कुरा त सहजै भयो।
पछिल्लोपटक अस्पतालले भर्ना लिन छाडेका समाचार आइरहेका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले संक्रमित बिरामीलाई हेर्ने दृष्टिकोण पनि फरक देखिन थालेको कुरा बाहिर सुनिने गरेको छ।
म आफैंले पनि अक्सिजन लेभल घट्दाको अनुभव बटुलेँ। तीन दिनभित्रमै मानिसलाई अन्तिम अवस्थासम्म पुर्याउँदो रहेछ संक्रमणले।
चिकित्सकले समय नदिएकौ कारण अक्सिजन लेभल घटेर संक्रमितको मृत्यु भएको खबर पनि नआएको होइन। संक्रमणका कारण मेरो अस्पताल बसाइ पीडादायक रह्यो। तथापि, चिकित्सकको व्यवहारका कारण आधा रोग निको भएजस्तो अनुभव पनि भएको थियो।
कतिपय बेलामा श्वास बढेर समस्या आएको थियो। औसतमा दिनमा १४ पटक धड्किने मुटु संक्रमण बढेसँगै ३५ पटकसम्म धड्कियो। त्यसबेला चिकित्सक तथा स्वास्थ्यकर्मीको हेरचाह र राम्रो व्यवहारका कारण मेरो मनोबल उच्च रह्यो।
म मात्र होइन, टेकुबाट धेरै संक्रमित निको भएर घर फर्किए। डा.अनुप बाँस्तोला र उहाँको टिमले लगाउनुभएको गुन त झन् कहिले बिर्सिदिनँ। उहाँहरुले कहिले पनि हामीलाई संक्रमितजस्तो व्यवहार गर्नु भएन्। चिकित्सक तथा स्वास्थ्यर्कीहरुले आउने, धाप मार्ने अनि हौसला बढाइदिने गर्नुभयो। त्यसले गर्दा साँच्चिकै रोग जितेको पत्तो भएन।
सञ्चार माध्यमले कोरोनाका सकारात्मक समाचारलाई जति कभर गर्नुपथ्र्यो, त्यति नभएको हो कि जस्तो लाग्छ। टेकु अस्पतालले इन्टरनेट निःशुल्क दिएको थियो। त्यही भएर बिरामीलाई मोबाइल चलाएर सूचना पाउन सजिलो भयो। सरकारी अस्पतालमा यो सराहनीय प्रयास थियो।
राष्ट्रियस्तरका मिडिया, अनलाइन, टिभीहरुले कहिल्यै मनोबल उच्च बनाउने खालका कन्टेन्ट पस्केनन्, र आज पनि उस्तै अवस्था छ।
मिडियामा सधैँ मृत्युको खबरले पहिलो नम्बरमा स्थान पाएको देखियो। यसले चाहिँ मलाई अस्पताल रहँदा तनाव दिन्थ्यो। त्यस्ता समाचार नपस्किए पनि हुन्थ्यो भन्ने लाग्थ्यो।
अहिले पनि धेरै संक्रमित कोरोनासम्बन्धी अफवाहका कारण झन् गम्भीर बनिरहेका छन्। यसप्रति ध्यान दिनु जरुरी छ भन्ने लाग्छ।
पौष्टिक खानेकुरा, रहनसहन, योग–ध्यान आदिले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छन्। कोरोना संक्रमण भएपछि मात्र यी कुरामा ध्यान जान्छ। तर, यस्ता कुरालाई दैनिक जीवनमा पालना गर्नुपर्छ।
अहिले सहरका टोल–टोल अनि गाउँ–गाउँसम्म संक्रमण फैलिएको छ। कसलाई कसरी संक्रमण हुन्छ वा सर्छ भन्ने मात्र हो। खानपिन र योग–ध्यान अति महत्वपूर्ण रहेका छन् जीवनमा।
अस्पताल बसाइँदेखि नै मैले प्रोटीनयुक्त खानेकुरामा जोड दिएँ। त्यस्तै, झोलिलो पदार्थ खानेदेखि पर्याप्त पानी पिउने काम गरेँ। बिमारी भएका खानेकुरा रुच्दैन रहेछ। तर, मैले जोडबल गरेर भए पनि खाएँ, जसको कारण मैले शरीर कमजोर हुन दिइनँ।
(सञ्चारकर्मी धितालसँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको कुराकानीमा आधारित)





























प्रतिक्रिया