नेपालगन्जको तापक्रम दिनहुँ उकालो लागिरहेको छ।
यहाँको उखरमाउलो गर्मीका बाबजुद मानिसहरु कोरोना संक्रमणबाट जोगिन भन्दै जडीबुटीसहित ताताोपानी पिइरहेका छन्।
बाह्य मौसमको तापक्रम बढ्दै गइरहेका बेला निषेधाज्ञामा घरभित्र बसेका नेपालगन्जवासी तातोपानी पिउँदै तङ्ग्रिन खोजेका त छन्, तर बाँके कोरोनाबाट फत्रक्कै गलेको छ।
नेपालगन्ज उपमहानगरपालिका–३ सुनारमण्डीमा कोरोनाबाट ४१ वर्षीय जहिर अहमद, ४८ वर्षीय इम्तियाज अमहद, ४६ वर्षीय एजाज अहमदले ज्यान गुमाए। नेपालगन्जका यी ३ भाइको मृत्युको घटनाले समुदायस्तरमा संक्रमण फैलिएको प्रमाणित भयो। यी मृत्युका घटनाले नेपालगन्जमा कोरोनाको त्रास ह्वात्तै बढेको हो। कोरोना संक्रमणको दोस्रो लहरमा बाँके अझै पनि स्वास्थ्य संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ।
वैशाख ९ गतेदेखि निषेधाज्ञा सुरु भएको नेपालगन्जमा एकै दिन १८ जनासम्म मृत्यु भएका घटना डरलाग्दा देखिए।
कोरोना संक्रमणको दरमा कमी आए पनि वैशाख १३ देखि जिल्लाभरि निषेधाज्ञा निरन्तर छ। बाँकेमा निषेधाज्ञा भए पनि त्यो प्रभावकारी रुपमा लागू हुन सकेको छैन। नेपालगन्जसहित पूरै जिल्ला अझै कोरोनाको चपेटामा छ।
संक्रमणको चेन पूरै टुट्न सकेको छैन। कोरोनाको दोस्रो लहरको सुरुआतमा करिब ९३ प्रतिशत संक्रमण दर पुगेको बाँकेमा पछिल्ला दिनहरुमा गिरावट आउँदै छ। करिब ४४ प्रतिशतमा हुँदा स्थिति केही नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दाबी गरे। गेलालले दाबी गरेसँगै संक्रमण दर २९ प्रतिशतमा झर्याे। पछिल्लो पटक बाँकेको संक्रमित दर करिब ३८ प्रतिशत छ।
बाँकेमा कोरोनाको दोस्रो लहर वैशाखदेखि सुरु भएयता ११ हजार ५ सय ९१ जना संक्रमित भएका छन्। पछिल्लो तथ्यांकअनुसार बाँके जिल्लाभित्रका मात्रै २ सय ७९ जनाबो कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपालगन्ज र कोहलपुरमा रहेको निजी क्षेत्रको मेडिकल कलेज र सरकारी अस्पताल भेरीमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अलावा सुदूर पश्चिम प्रदेशबाट पनि कोरोना संक्रमित आउने गर्छन्।
कोरोनाको कुन भेरियन्ट कति सक्रिय छ भन्ने कुरा बाँके जिल्लावासीले पत्तो पाउन सकेका छैनन्। तर, भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको जेठ ४ गते मंगलबार प्राप्त नजिता अनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भयो। यी दुवै भेरियन्ट भारतमा पहिलो पटक भेटिएका थिए।
पहिलो र दोस्रो लहरमा गरी बाँकेमा १ सय २६ जना ४१ देखि ६० वर्ष उमेर समूहका संक्रमितहरुको मृत्यु भइसकेको छ। त्यसैगरी, २० देखि ४० वर्ष उमेर समूहका ४८ जनाको मृत्यु भएको छ। ७१ जना ६१ वर्षदेखि ७५ वर्ष उमेर समूहका संक्रमितहरुको मृत्यु भइसकेको छ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र दोस्रो लहरमा १ सय २ सहित १ सय ३६ जनाको मृत्यु भएको छ। पहिलो वर्ष मृत्यु भएका २ जनासहित नानरैनापुर गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ। बाँकेका विभिन्न स्थानीय तहमध्ये कोहलपुर नगरमा पहिलो लहरका १२ र दोस्रो लहरमा ४९ सहित ६१जनाको मृत्यु भएको छ।
खजुरा गाउँपालिकामा दोस्रो लहरका २८ सहित ३४ जना संक्रमितले ज्यान गुमाएका छन्। वैजनाथमा गाउँपालिकामा पहिलो लहरका २ जनासहित २३ जना, राप्ति सोनारीमा दोस्रो लहरका ७ जनासहित १०, जानकीमा दोस्रो लहरका ५ सहित ७ र डुडुवा गाउँपालिकामा पहिलो लहरमा मृत्यु नभएकोमा यस पटक ४ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ। बाँकेमा जम्मा २ सय ७९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
जिल्लाका दुई मुख्य बजार क्षेत्र कोहलपुर र नेपालगन्जमा ३ वटा ठूला अस्पताल छन्, जहाँ कोभिड–१९का बिरामीको उपचार भइरहेको छ। अन्य केही ठूला तथा साना अस्पताल र क्लिनिक पनि छन्। ठूला अस्पतालका समस्या पनि ठूलै छन्। यी अस्पतालमा बिरामीको चाप त्योभन्दा झनै ठूलो चुनौती छ।
नेपालगन्जमा पिसिआर परीक्षण गर्ने ३ वटा सेन्टर छन्। भारतबाट आउने यात्रुहरुलाई मध्यनजर गर्दै नेपाल–भारत सिमामा जमुनाहा नाकामा ‘एन्टिजेन’ समेत जाँच हुने गर्छ।
खजुरा क्षेत्रमा रहेको क्यान्सर अस्पतालमा अन्य सेवाहरु दिइएको छ। अघिल्लो वर्ष सयौं संक्रमितहरुलाई निको पार्ने आइसोलेसन सेन्टर बनेको क्यान्सर अस्पताल यस पटक त्यो भूमिकामा छैन।
नेपालगन्ज र कोहलपुरमा रहेको निजी क्षेत्रको मेडिकल कलेज र सरकारी अस्पताल भेरीमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अलावा सुदूर पश्चिम प्रदेशबाट पनि कोरोना संक्रमित आउने गर्छन्।
संक्रमितको चापसँगै अक्सिजन उत्पादन गरिरहेका कम्पनीलाई उत्पादन र माग आपूर्ति व्यवस्था मिलाउनसमेत धौधौ भयो। अक्सिजन उत्पादकहरुलाई पनि अस्पतालको जस्तै समस्या छ। प्रदेशभरि र छिमेकी जिल्लामा अक्सिजन सप्लाइ गर्नु परिरहेको छ।
भेरी अस्पतालमा पछिल्लो समय रातिको समयमा बिरामीहरुको ज्यान जाने क्रम बढेकोमा नेपालगन्जमा रहेका पत्रकारहरुले गम्भीर चासो व्यक्त गरेका छन्। पत्रकार नरेन्द्र थापा भन्छन्, ‘किन हो अस्पतालमा रातिको समयमा मृत्यु भइरहेका घटनाले हामीलई प्रश्न सोध्न बाध्य बनाएको छ। सरोकारवालाहरु जवाफदेही हुन जरुरी छ। तर हामीले अस्पताल र स्वास्थ्यकर्मीहरुमाथि भरोसा गर्नेबाहेक अर्को उपाय छैन।’
नेपालगन्ज र कोहलपुरमा रहेको निजी क्षेत्रको मेडिकल कलेज र सरकारी अस्पताल भेरीमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अलावा सुदूर पश्चिम प्रदेशबाट पनि कोरोना संक्रमित आउने गर्छन्।
यसैबीच, नेपालगन्जमा खुलेका आइसोलेसन सेन्टरहरुको मापदण्डका विषयमा पनि सञ्चारमाध्यमले प्रश्न उठाइरहेका छन्।
बाँकेका स्थानीय तहका जनप्रतिनिधि सक्रिय रुपमा संक्रमण नियन्त्रणका लागि खटिएका छन्। तर, जनप्रतिनिधिहरु आइसोलेसन र अस्पतालका बेडसम्म गएर संक्रमितको हालखबर बुझ्नुले संक्रमित र स्वयं जनप्रतिनिधि कतिसम्म सुरक्षित रहन्छन् भन्ने प्रश्न गम्भीर रुपमा उठेका छन्।
यसैबीच नेपालगन्जमा मानवीय सेवामा स्वतःस्फूर्त खटिनेहरु पनि छन्। कतिपय संघसंस्था, धार्मिक संगठनले समाज सेवा गरेर उदाहरणीय कार्य गरिरहेकाछन्। तर, समाज सेवाका नाममा अवाञ्छनीय गतिविधिसमेत बढेको देखिन्छ।
विषम परिस्थितिमा समाजसेवीहरुबाट सेवा पाउनु राम्रै हो। तर, सस्तो लोकप्रियताका लागि सामाजिक कार्य गरिरहेको देखाउनेहरुलाई प्रोत्साहन गर्न नहुने माइती नेपालका केशव कोइराला बताउँछन्।
यस विषयमा नेपलगन्ज–४ का शिक्षक रञ्जीतसिंह सिजापति भन्छन्–’मानवीय सेवामा खटिने र महामारीमा समाज सेवाका नाममा ठगी गर्नेहरु हामीले पहिचान गर्न सक्नुपर्छ।’
कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा रहेको बाँकेको जनजीवन अहिले पनि अस्तब्यस्त नै छ। स्वास्थ्य सेवा दिइरहेको नेपालगन्जस्थित भेरी अस्पतालका कोरोना फोकल पर्सन डा.संकेतकुमार रिसाल भन्छन्–‘हामी आफ्नो बर्कत, स्रोत साधनले भ्याएसम्म संक्रमितहरुको उपचारमा लागेका छौ।’
स्वास्थ्य सामाग्री वितरण गर्दा जिल्लामा राजनीतिक दलहरुको ब्यानरमा भइरहेका गतिविधिप्रति पनि सर्वसाधारणले असन्तुष्टि जाहेर गरिरहेका छन्। नेपालगन्ज–६ का बासिन्दा पूर्ण जैसी भन्छन्–‘संकटमा गर्ने सहयोग दल विशेष भनेर प्रचार गरिनु उचित होइन।’































प्रतिक्रिया