मूल्य बढेकै आधारमा कमजोर कम्पनीमा लगानी गर्दा सोझा लगानीकर्ता डुब्छन्-छोटेलाल रौनियार

मूल्य बढेकै आधारमा कमजोर कम्पनीमा लगानी गर्दा सोझा लगानीकर्ता डुब्छन्-छोटेलाल रौनियार

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय नेपाली पुँजी बजार उकालो लाग्ने क्रम बढेको छ। नयाँ वर्षको सुरुआतसँगै उकालो लाग्न थालेको शेयर बजार कोरोना महामारीको दोस्रो लहर भयावह रुपमा फैलिँदा पनि गतिमा त्यति ब्रेक लागेको छैन।

भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले तीन हप्तादेखि निषेधाज्ञा जारी गरेको छ। तर, निषेधाज्ञा अवधिमै शेयर बजार उच्च अंकले बढ्दै गएको छ। राजनीतिक परिवर्तन, राष्ट्र बैंकको नीति, बैंकको ब्याजदर, बजार हल्ला आदिले शेयर बजारमा प्रभाव पर्ने गरेको देखिन्छ। 

गत शुक्रबार प्रधानमन्त्री ओलीले संसद् विघटन गरे पनि आइतबार सेयर बजारमा  त्यसको कुनै असर देखा परेन। बरु उल्टो शेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। प्रायः सबैले संसद् विघटनले निम्त्याएको राजनीतिक अस्थिरताले बजार घट्न सक्ने आँकलन गरे पनि त्यसो भएन। उल्टै बजारले नयाँ रेकर्ड राख्न सफल भयो।

अब नेपाली पुँजी बजारमा कुनै पनि राजनीतिक घटना क्रमले प्रभाव नपर्ने जस्तो देखिएको छ। यदि प्रभाव पारिहाले पनि एक–दुई दिन मात्रै पर्न सक्छ भन्ने उदाहरण संसद् विघटनले देखाएको छ।

यसअघि संसद् विघटन हुँदा पनि बजारमा खासै असर परेको देखिएको थिएन। तर,  केही टाउकेहरुले बजार कब्जा गरेर तलमाथि बनाउने गरेका छन्। नत्र कुनै पनि प्रभावले बजारमा विचलित हुन सक्दैन। 

अहिले खासगरी बैंक ब्याजदर एकदमै कम भएको,  केही दिनमै सजिलै शेयर लोन पाउन थालिएको, बैंकले लगानी गर्ने अन्य ठाउँ हाल बन्द रहेको र बेस रेटसमेत घटेकाले शेयर बजारमा चम्किन थालेको हो। घरमै बसेर अनलाइनबाट ९५ प्रतिशत कारोबार हुने भएकाले बजार उकालो लागेको हो।

विगत एक वर्षदेखि देशमा जस्तोसुकै राजनीतिक परिवर्तन आए पनि सेयर बजारमा त्यसको नकारात्मक असर ठूलो रुपमा देखा परेको छैन। यद्यपि, ओली सरकारले यसअघि पुस ५ गते संसद् विघटन गर्दा भने बजारमा ९५ अंक गिरावट आएको थियो। तर, त्यस दिन कारोबार रकममा भने उच्च वृद्धि भएको थियो। 

राजनीतिक रुपमा शेयर बजार तलमाथि हुने भए कम्युनिस्ट सरकारको आएको बेला शेयर बजार घट्नुपर्नेमा कम्युनिस्ट सत्तामा भएको बेलामै कारोबार रकम र सूचकसमेत उकालो लागेको छ। अब राजनीतिक घटनाक्रमलाई पाखा लगाउँदै सेयर बजार अघि बढ्छ। यो पुँजी बजारका लागि सकारात्मक पक्ष हो।

अहिले गाउँ–गाउँ, बस्ती–बस्ती र विदेशबाट समेत लगानीकर्ता सेयर बजारमा प्रवेश गरेका छन्। उनीहरु जसरी पनि सेयर बजारबाट कमाउने सोचका साथ अघि बढेकाले देशभित्र हुने सामान्य परिवर्तनले खासै असर नगर्ने देखिन्छ। 

पछिल्लो समय सेयर बजार बलियोभन्दा पनि कमजोर कम्पनीका शेयर मूल्य  उचालिन थालेको छ। लगानीकर्ता पनि सुनियोजित ढंगले मूल्य बढाइने कम्पनीको शेयरमै लगानी गर्न तल्लीन हुन्छन्।

हरेक बुलिस ट्रेन्डमा बलिया कम्पनीभन्दा कमजोर कम्पनीको मूल्य सोचेभन्दा बढी उकालो लागेका छन्। तर, यसरी कम्पनीको विषयमा कुनै पनि कुरा नबुझी हल्लाको भरमा लगानी गर्दा सोझा लगानीकर्ता फस्ने सम्भावना पनि बढी देखिन्छ।  

बजारमा यस्ता कमजोर वित्तीय अवस्था भएका, एक वर्ष पनि नाफा नदिएका र भर्खरै बजारमा कारोबार सुरु गरेका कम्पनीमा केही बिचौलियाहरु लागेका छन्। त्यसैले सोझा र साना लगानीकर्ताले बजार ट्रेन्ड, कम्पनी प्राविधिक र आधारभूत पक्ष नहेरी बढी मूल्यका भन्दा कम मूल्यका कम्पनीमा लगानी गर्ने परिपाटीले उनीहरु स्वयंका लागि पछि घात हुनसक्ने छ। बुलिस बजारमा खेलाडीहरुले साना र कमजोर कम्पनीका सेयर कर्नरिङ गरेर मूल्य उचाल्ने र आफूले सोचेअनुसारको मूल्यमा बेचेर बाहिरिने हुँदा सोझा र नयाँ लगानीकर्ता फस्ने गरेका छन्। 

राजनीतिक रुपमा शेयर बजार तलमाथि हुने भए कम्युनिस्ट सरकारको आएको बेला शेयर बजार घट्नुपर्नेमा कम्युनिस्ट सत्तामा भएको बेलामै कारोबार रकम र सूचकसमेत उकालो लागेको छ।

त्यसैले, अब शेयर बजारमा नियामक निकायले यस्ता खेलाडी पहिचान गरेर कारबाही गरे मात्रै पनि अझै शेयर बजार उकालो लाग्ने छ।

पछिल्लो समय १०/१२ वटा कम्पनीको शेयर मूल्यमा निकै बढोत्तरी भएको छ।  यसरी आधारभूत हिसाबले केही कमजोर तथा भर्खरै बजारमा आएका कम्पनीको मूल्य ह्वात्तै बढ्नुमा बजारमा खेलाडी सक्रिय रहेको प्रस्ट देखिन्छ।

यस्ता केही कम्पनीमा लगानीकर्ताले आँखा चिम्लिएर पैसा खन्याइरहेका छन्। यदि बजारको अहिलेको प्रवृत्तिमा हठात परिवर्तन आयो भने त्यस्तो बेलामा डुब्ने भनेकै  कमजोर कम्पनीमा लगानी गर्नेहरु हुनेछन्। त्यसैले शेयरमा लगानी गर्दा बुझेर राम्रो कम्पनीमा लगानी गर्दा सुरक्षित हुन्छ। 

पछिल्लो समय लगातार रुपमा टेलिकम, निफ्रा, एनआरआइसी, चन्द्रागिरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ, हिमालय डिस्टिलरी, तामाकोशी, शिवम् सिमेन्ट, महिला लघुवित्त, बिमा कम्पनीजस्ता कम्पनीका  कारण सूचक उच्च भएको तर बढी बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य अझै बढेको छैन।

कुल पुँजी बजारमा ७० प्रतिशत हिस्सा ओगटेका बैंक, विकास बैंक, फाइनान्स, इन्स्योरेन्स समूहको मूल्य अझै तुलनात्मक रुपमा कम भएकोले यी कम्पनीको मूल्य बढेपछि बुलिस मार्केट देखिनेछ।  साथै, अहिले शेयर उच्च रुपमा बढ्दै जानुमा नियामकको कदम र बजार विस्तारका  लागि भएका विभिन्न कार्यले पनि बजारमा टेवा पुगेको देखिन्छ।

अहिले लगानीकर्ताले तत्काल फाइदा खोज्न थालेकाले कम्पनी जस्तो भए पनि लगानी गरिहाल्ने गरेका छन्। बजारमा राम्रो नाफा दिएका तथा राम्रो  वित्तीय विवरण भएका कम्पनी छाडेर  अहिले भर्खरैका कम्पनीमा लगानी बढेको छ। 

यसमा मूल्य बढ्दा राम्रो नै होला, तर घट्दै जाँदा पछुतो मान्नुपर्ने अवस्था आउनेछ। तसर्थ, बजारमा जथाभावी लगानी नगरी आफूले खरिद गर्ने कम्पनीबारे जानकारी लिएर, जोखिम वहन गर्ने आफ्नो क्षमतालाई हेरेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह  छ।

शेयर बजारले विस्तारै गति लिन थालेकाले सबैले बुझेर राम्रो कम्पनीमा लगानी गर्दा खेर जाँदैन। विदेशमा रहेका नेपाली लगानिकर्ताले १० अर्बभन्दा बढी लगानी गर्ने र आगामी २०७८ सालभरिमा १५ देखि २० अर्ब दैनिक कारोबार पुग्ने अनुमान  छ।

(नेपाल इन्भेष्टर फोरमका अध्यक्ष रौनियारसँग केन्द्रबिन्दुकर्मी अनिस मिजारले गरेको कुराकानीमा आधारित।) 

Skip This
Skip This
Logo