काठमाडौं ।
देशका विभिन्न कारागारका ५४ जनामा कोरोना संक्रमण देखिएको छ, फैलिने क्रम बढ्दो छ ।
सुन्धारास्थित केन्द्रीय कारागारको महिला सेलमा सयभन्दा धेरैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । एकैपटक त्यति धेरैमा रुघा, खोकी र ज्वरो देखिएपछि जेलभित्र त्रास छ । तैपनि सरकारले परीक्षणका लागि चासो देखाएको छैन ।
कैदीबन्दीहरूले परीक्षणको माग गरे पनि स्वाब संकलन हुन सकेको छैन । जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकीको आशंका गरिएको बताए । ‘करिब एक सयजनामा रुखा, खोकी र ज्वरो आएको भन्ने छ,’ उनले भने, ‘केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकी भएको आशंका गरिएको छ, केहीको परीक्षण पनि भइरहेको छ ।’
गत साता एकजनामा संक्रमण देखिएपछि केन्द्रीय कारागारको अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी तथा त्यहाँ रहेका अन्य कैदीबन्दीको परीक्षण गरिएको थियो । जसमा थप एकजनामा संक्रमण देखिएको र अरूको रिपोर्ट नेगेटिभ आएको छ ।
गत शनिबार सिन्धुलीबाट उपचारका लागि केन्द्रीय कारागार ल्याइएका कैदीमा संक्रमण देखिएको थियो । यो शनिबार जेलकै अस्पतालमा उपचाररत एक महिला कैदीमा संक्रमण देखिएको बाँस्कोटाले बताए । दुवैजना क्वारेन्टिनमा बस्दै आएकाले उनीहरूको अरूसँग घुलमिल नरहेको उनको भनाइ छ ।
त्यस्तै, पर्सा कारागारका जेलरसहित ३२ जनामा संक्रमण देखिएको छ । यहाँ करिब एक हजार दुई सय थुनुवा छन् । संक्रमितमध्ये चारजना आइसोलेसनमा छन्, अरू डिस्चार्ज भइसकेका छन् । जेलरलाई समेत संक्रमण भएकोमा शनिबार डिस्चार्ज भएका छन् ।
बाँके कारागारका सातजना कैदीबन्दीलाई संक्रमण भएकोमा सबै निको भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै, सिराहामा ६ जना संक्रमित भएका छन् । सुनसरीको झुम्का कारागारमा पनि ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्याङ्जामा एक कैदीमा संक्रमण देखिएको छ ।नयाँ पत्रिकाबाट





























प्रतिक्रिया