कोरोना कहरकाबीच मच्छिन्द्रनाथको पूजा गर्नेको भिड (भिडियोसहित)

कोरोना कहरकाबीच मच्छिन्द्रनाथको पूजा गर्नेको भिड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरुले रथारोहण गराइएको ठाउँमै पुगेर पूजाआजा गरेका छन् ।

साउन १० गते नागपञ्चमीका दिन दिउसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो । रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नु पर्ने भए पनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ ।

भिडियो :

तर यस वर्ष कोभिड-१९ का कारण ढिला गरी रथारोहण गराइए पनि रथयात्रा निकाल्न सकिएको छैन । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमीको दिन परेको थियो । सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो । तर पनि रथयात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन् । यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भिडभाड देखिएको छ ।

कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जना भन्दा बढीलाई सहभागि हुन नदिई रथजात्रा गराउने भनिएको थियो । तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथयात्रा रोकिएको थियो ।

कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा सरकारले सुरक्षा सतर्कता थप कडा पारेको छ । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय र स्थानीय तहहरु सटडाउन गरिएका छन् । सरकारी तथा निजी कार्यालयहरु आलोपालो प्रणालीमा संचालन भइरहेका छन् । सवारीसाधनमा कडाइका साथ जोरविजोर प्रणाली लागू गरिएको छ भने होटलहरुमा बसेर खान नपाइने नियम लागू गरिएको छ । राजधानीका धेरैजसो भिडभाड हुने मठ मन्दिरहरु बन्द गरिएका छन् । तर रातो मच्छिन्द्र नाथको पूजा गर्न भने भिड लाग्ने गरेको छ । यसले कोरोनाको जोखिम थप बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार १३७ जना पुगेको छ । जसमध्ये काठमाडौंमा एक हजार ७०८ जना, ललितपुरमा २८३ जना र भक्तपुरमा १४६ जना रहेका छन् ।

 

Logo