काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ ।
दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । सो अध्ययनका लागि सम्बन्धित पालिकाहरुले सहमति दिने बताइसकेका छन् । मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभाव सम्बन्धी अध्ययन गर्नु पर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनले भने, “त्यसका लागि पालिकाको सहमतिपत्र चाहिन्छ ।”
दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको सूचना अधिकारी पन्तले जानकारी दिए । यहाँका पालिकाले सहमति दिएपछि त्यो वातावरण प्रभाव मूल्याङ्कन वातावरण मन्त्रालय पठाइने उनको भनाइ छ । डिजाइन दुई वर्ष पहिले सकिएको भए पनि त्यतिबेला स्थानीयवासीले कतिपय माग पहिले पूरा हुनु पर्ने बताएका थिए । अहिले ती मागमध्ये कतिपय आयोजना कार्यालय र कतिपय सम्बन्धित कार्यालयबाट कार्यान्वयन गर्ने सहमति भएको छ ।
सडक निर्माण विभागले गर्ने र अरु कतिपय पूर्वाधार सम्बन्धित कार्यालयले तथा कतिपय समितिले नै गरिरहेको छ । त्यो अनुसार त्यहाँका पालिका सकारात्मक रहेकाले सहमति पत्र दिने उनको भनाइ छ ।
दोस्रो चरणको निर्माणका लागि अहिलेसम्म डिजाइन फाइनल भएको र त्यसको लागत पनि यकिन भइसकेको उनले बताए । सो आयोजनाको लागत झण्डै पाँच अर्ब लाग्ने उल्लेख छ । मेलम्चीको पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा पनि सहयोग गर्ने एशियाली विकास बैङ्कले प्रतिबद्धता जनाएको थियो । मेलम्चीबाट ५१ करोड लिटर पानी ल्याउने भन्ने पहिले भएको सहमतिमा उल्लेख छ । बैङ्कले पहिलो चरणमा गरेको प्रतिबद्धताअनुसार सहयोग गर्छ भन्ने समितिको विश्वास छ ।
पहिलो चरणको पानी काठमाडौँ आएपछि ऋण अनुदान गर्ने भनी सहमति भएको थियो । समितिले सुरुङमा भेटिएका त्रुटि सच्चाएर मेलम्ची खोलाको पानी ल्याउने तयारी गरेको छ । उनले भने, “अबका केही महिनामा नै त्रुटि सच्चाइएपछि सुरुङमा पानी पुनः पठाइनेछ ।”
पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याइएपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी राजधानी ल्याउने समितिको लक्ष्य छ । मेलम्ची खोलाको मुहानस्थल अम्बाथानबाट याङग्री झण्डै आठ र लार्के दुई किमी दूरीमा रहेको छ । समितिले सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण गर्नेसम्मको काम गर्नेछ भने सुन्दरीजलबाट उपत्यकामा पानी वितरणको काम भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्ने जनाइएको छ ।
आयोजना यसअघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । गत वर्ष असोजमा यो कम्पनीसँग सहमति भएको थियो । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँले काम गर्दै आएका छन् ।
सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ । बन्दाबन्दीको समयमा जनशक्ति र निर्माण सामग्री ल्याउन गाह्रो भएकाले काम सुस्त भए पनि अहिले पुनः काम तीव्र गतिमा भइरहेको छ । सरकारसँग भएको सहमति अनुसार ‘डेडबस’ निर्माण आगामी पुससम्ममा सम्पन्न गर्नु पर्नेछ ।रासस





























प्रतिक्रिया