ठूलो संख्यामा शेयरको कारोबार गर्ने स्टक डिलरको कार्यविधी तयार, भदौ १ गतेदेखि लागु हुँदै (भिडियो)

ठूलो संख्यामा शेयरको कारोबार गर्ने स्टक डिलरको कार्यविधी तयार, भदौ १ गतेदेखि लागु हुँदै (भिडियो)

केन्द्रबिन्दु
0
Shares

ठूलो परिमाणको शेयर कारोबारलाई सहज बनाउन धितोपत्र व्यापारी (स्टक डिलर)को कार्यविधी तयार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्टक डिलर कार्य सञ्चालन कार्यविधि २०७७ तयार गरेको हो । सो कार्यविधी आगामी भदौ १ गतेदेखि लागु हुने नेप्सेले जनाएको छ ।

सो कार्यविधि अनुसार कारोबार गर्न योग्य कम्पनी छनौट गर्दा विगत २ वर्षदेखि नाफामा रहेको कम्पनी हुनुपर्नेछ । त्यस्ता स्कट डिलर कम्पनीले २० करोड रुपैयाँ भन्दा कम चुक्तापूँजी भएको कम्पनीलाई नियमित कारोबारमा संलग्न गर्न पाउने छैन । त्यस्तै, स्टक डिलरले ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूको ५० हजार कित्तासम्म शेयर खरीद पाउने व्यवस्था गरिएको नेप्सेले जनााएको छ ।

लगानीकर्ताहरूको संख्या कम्तीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र विगत एक वर्षको कारोबार दिन मध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको कम्पनी हुनुपर्ने सो कार्यविधीमा उल्लेख छ ।

त्यस्तै, सो कार्यविधीमा ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्बसम्म चुक्ता पूँजी भएको कम्पनीको ३० हजार, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र शेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ ।

 

स्टक डिलर कम्पनीले एकपटकमा निश्चित कित्ता मात्र शेयर खरिद गर्न पाउनेछन् । स्टक डिलरका संचालन संबन्धी कार्यविधी बनेपछि शेयरको खरिद बिक्री अझै प्रभावकारी हुने नेप्सेले जनाएको छ ।

यता, नागरिक लगानी कोषले यसअघि नै आफ्नो नेतृत्वमा स्टक डिलर संचालन गर्ने गरी तयारी पूरा गरेको छ । कोषले ठूलो परिमाणमा सेयर खरिद बिक्रीका लागि नेपालमा पहिलो पटक स्टक डिलर सञ्चालन गर्ने गरी तयारी पूरा गरेको हो । सरकारी क्षेत्रका गैरबैंकिङ संस्थाहरु पुर्नबीमा, बीमा कम्पनी, नेपाल टेलिकम लगायतका संस्थाहरु सो स्टक डिलरमा रहेका छन् ।

कोषका सञ्चालक रामशरण खरेलले स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिने बताए । सो स्टक डिलरका लागि ५ अर्ब रुपैयाँ चुक्तापूँजी तोकिएको छ । स्टक डिलरले संस्थागत रुपमा सेयर उठाउने र बेच्ने संस्थाको अभावको पूर्ति गर्नेछ । नागरिक लगानी कोष आफैमा पूँजी बजारको विकासका लागि स्थापना भएकाले संस्था हो ।

हाल सेयर बजारमा ५० ओटा ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

Logo