प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बुद्ध भारतमा जन्मिएको भन्ने भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । प्रवक्ता शर्माले सामाजिक संजालमार्फत ‘आवेगको जवाफमा आवेग´पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन’ उनले भनेका छन् ।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले आइतबार ट्वीट गर्दै भनेका छन्।
उनले `बुद्ध नेपालमा जन्मिएका हुन्´ भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं, भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा नेपाल बुद्ध भूमि हो भनेर बोलेपछि यो विषय खारेज भैसकेको भन्दै आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको। आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्। मुल विषय मोड्न सक्छन्। तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्।’
भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका थिए। कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन्।
नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीयहरूले यसअघि पनि आफ्नो भएको दाबी गर्दै आएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पटक पटक बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदै आएका छन् ।
भगवान बुद्ध नेपालमा जन्मिएका हुन् l त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ l
`आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020





























प्रतिक्रिया