काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिने बताएका छन् ।
ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेका छन् अब त्यसैगरी विस्तारै सामूदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी) को भविष्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामूदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामूदायिकमा स्वतः विद्यार्थीको चाप बढ्ने छ ।’
सबै सामूदायिक विद्यालयमा सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निःशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको प्रष्ट पारे । ‘हामीले खोजेको कमजोर होइन गुणस्तरीय र उत्कृष्ट शिक्षा हो । संस्थागत विद्यालयले दिने भन्दा पनि अझ उत्कृष्ट र गुणस्तरीय शिक्षा सामूदायिक विद्यालयले दिन सक्नुपर्छ ।’
सामूदायिक विद्यालयले संस्थागत विद्यालयको भन्दा गुणस्तरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने हो भने संस्थागत विद्यालय स्वतः बन्द हुनेछन् ।
संघीय, प्रदेश र स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र अभिभावकहरुको जिम्मेवारी र दायित्व संस्थागत विद्यालयलाई बन्द गर्ने नभई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामूदायिक विद्यालय निर्माण गरेको पनि उनले बताए ।
‘काठमाडौँ महानगरपालिका स्थानीय सरकार भएको नाताले भौतिक पूर्वाधार, शिक्षक–शिक्षिकालाई दिइने तालिम लगायतका लागि तयार छ । ‘हामीले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्यौँ भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन् । हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यहि हो ।’ उनको भनाइ छ।
‘शौचालय नभएका ठाउँमा हामीले शौचालय बनाई दिन्छौँ भनेका छौँ, सङ्ख्या थप्नु पर्छ भने थप्नुहोस् भनेका छौँ,’ ‘भएकालाई सुधार गर्नुपर्छ भने गर्नुहोस् भनेका छौँ ।’ वर्षाका बेला हिलो र घाम लाग्दा धुलो उड्ने अबस्था नहोस् भनेर विद्यालय हाता भित्र मैदान बनाउने लगायतका काम पनि महानगरपालिकाले गरेको जानकारी दिए। ‘हरेक विद्यालयमा वृक्षारोपण गर्नुहोस् भनेर हामीले बजेट विनियोजन गरेका छौँ,’ उनले भने, ‘ हामीले विभिन्न विद्यालयलाई प्राविधिक शिक्षाका लागि पनि बजेट विनियोजन गरेका छौँ ।’
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि बालमैत्री चित्र तथा महावाणी लेखन, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण, सार्वजनिक पुस्तकालय तथा वाचनालयको स्तरोन्नति, प्राविधिक शिक्षा कार्यक्रम, आविस्कार क्लब स्थापना, सिटी पुस्तकालय स्थापना लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।





























प्रतिक्रिया