‘एसिड हान्नेलाई एसिड नै हानौं, जन्म कैद होस्’ : एसिड पीडित (भिडियोसहित)

‘एसिड हान्नेलाई एसिड नै हानौं, जन्म कैद होस्’ : एसिड पीडित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानून बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानून बनाउन माग गरेका हुन् । उनीहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनु पर्ने माग राखेका छन् ।

कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्ने गरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानून बनाउन माग गरेका हुन् । एसिड आक्रमणबाट पीडित भएकी जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड आक्रमणको घटना नरोकिएको बताइन् । कमजोर कानून देख्दा आफुलाई अदालत जान समेत मन नलागेको उल्लेख गर्दै सामान्य कानूनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्ने व्यवस्था गर्न माग गरिन् ।

एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गरिन् । ८ वर्ष सम्म कैद सजाय हुने भए पनि दिन रात गणना गर्दा चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताइन् ।

एसिड आक्रमणबाट पीडित भएकी संगीता मगरले सजाय कम हुँदा प्रतिसोध लिने काम बढेको बताइन् । उनले अरुको जीवन बर्बाद गरेपछि पनि आठ दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसीड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटनाहरु घटिरहेको बताइन् ।

मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुने गरी आक्रमण गर्नेहरुलाई ५ देखि ८ वर्ष सम्मको कैद र एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पु¥याएमा तीन वर्ष देखि ५ वर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखि तीन लाख रुपैयाँ सम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।

 

Logo