काठमाडौं ।
काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ ।
सो कार्यका लागि महानगरले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने प्रक्रियालाई सरल, सहज, व्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले कार्यविधि महानगरको ५० औँ नगर कार्यपालिकाको बैठकले पास गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
यस अघिसम्म महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका यस्ता संस्थाको दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि अनुमति जिल्ला जनस्वास्थ्य कार्यालयबाट लिनुपर्ने व्यवस्था थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा २ को खण्ड (झ)ले दिएको अधिकारका आधारमा यस्तो कार्यविधि ल्याएको महानगरले जानकारी दिएको छ । महानगरपालिका क्षेत्र भित्र आधिकारिक रुपमा दर्ता भएका यस्ता संस्था १ हजार भन्दा बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
‘नागरिकलाई सर्वसुलभ एवं गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि प्रचलित कानुन बमोजिम सरकारी, नीजि, सामूदायिक, गैरसरकारी वा सहकारीस्तरबाट स्थापना हुने स्वास्थ्य संस्थाको सेवा विस्तार, स्तरवृद्धि, स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने प्रक्रियालाई सरल, सहज, व्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले कार्यविधि निर्माण गरेको महानगर कानुन महाशाखाका प्रमुख बसन्त आचार्यले बताए । कानुन प्रमाणिकरण गर्ने वित्तिकै कानुन कार्यान्वयनमा जाने आचार्यले जानकारी दिए ।
कार्यविधिमा कसैले अनुमति नलिई महानगरपालिका भित्र स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएमा सो कार्य बन्द गरी जरिवाना वा क्षतिपूर्ति वा कालो सूचिमा राख्न वा भविष्यमा सो कार्य गर्न नपाउने गरी व्यवस्था गर्नेसम्मको अधिकार समावेश गरिएको छ ।
अनुमति लिएका स्वास्थ्य संस्थाले आफ्नो उदेश्य र क्षमता अनुसार आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोइमेजिङ समेत), शल्यक्रिया, सघन उपचार सेवा, प्रवद्धनात्मक तथा प्रतिरोधात्मक सेवा, विशेषज्ञ सेवा, फार्मेसी सेवा, रक्त सञ्चार सेवा, फिजियो थेरापी सेवा, शवगृह व्यवस्थापन, अस्पताल व्यवस्थापन, वातावरण व्यवस्थापन, स्वास्थ्य संस्थाबाट निष्काशित फोहोरमैला व्यवस्थापन, पोषण गृह, घरमा आधारित स्वास्थ्य सेवा सञ्चालन गर्न पाउने छन् ।
कार्यविधिमा अस्पतालको पूर्वाधार मापदण्ड उल्लेख गरिएको छ । मापदण्ड अनुसार अस्पताल रहने स्थानमा धुँवा, धुलो, ध्वनि, जल तथा जमिन प्रदुषणबाट मुक्त भएको, सुरक्षाको व्यवस्था भएको, सडक, पानी, विजुली, सञ्चार सुविधा, प्रयाप्त पार्किङ, हरियालीयुक्त बातावरण, फोहोरमैलको व्यवस्थापन लगायत हुनु पर्ने छ ।































प्रतिक्रिया