कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो ।

भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले आजदेखि बन्द गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

भक्तजनलाई पूजा आराधना एवं दर्शनका लागि मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती पूर्ववत् सञ्चालन हुने उनले बताए । राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिर उपत्यकाका महत्वपूर्ण शिवालय मध्येमा पर्छ । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुने भएकाले पनि यस मन्दिरको पौराणिक महत्व रहेको जनाइएको छ ।

वाग्मती उत्तरतिर बग्ने उत्तरबाहिनी क्षेत्रसमेत यहीँ रहेकाले धेरै भक्तजन यहाँ आएर पूजा, आराधना एवं दर्शन गर्ने इच्छा राख्छन् । विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको यसअघिका दुई सोमबार गोकर्णेश्वरमा भीड लागेको थियो । साउनका प्रत्येक दिन बिहान विगत वर्षमा भन्दा यसपटक भीड बढेको देखिएपछि कोरोनाको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो ।

कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । पशुपतिनाथ मन्दिर लगायत उपत्यकाका अन्य ठूला मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छन् । गोकर्णेश्वर महादेव मन्दिर नजिकैका ५४ वर्षीय एक स्थानीयवासीको कोरोना सङ्क्रमणका कारण असार तेस्रो साता निधन भएको थियो । पछिल्लो समय उपत्यकामा पुनः सङ्क्रमण बढ्न थालेको र मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेपछि बन्द गर्न बाध्य हुनु परेको मन्दिर प्रबन्ध समितिले जनाएको छ ।रासस

Logo