यसरी हुँदैछ सिंहदरबारको पुनर्निर्माण (भिडियोसहित)

यसरी हुँदैछ सिंहदरबारको पुनर्निर्माण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कात्तिक महिनाभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण भइरहेको छ । कोभिड १९ का कारण निर्माण कार्यमा असर पर्दा केही समय ढिलो हुने भए पनि मूख्य भवनको पुनर्निर्माण कात्तिक महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बताएको छ ।

सिंहदरबार देशको मूख्य प्रशासनिक निकाय हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासको रुपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । तर पछि सिंहदरबारलाई मूख्य प्रशासनिक केन्द्रको रुपमा परिणत गरियो । प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी मन्त्रालयका कार्यालयहरु सिंहदरबार भित्र छन् । ऐतिहासिक सिंहदरबारको मुख्य प्रशासनिक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पु¥यायो । त्यसपछि केही वर्ष सिंहदरबारको पुनर्निर्माण हुन सकेन । अहिले भने पुनर्निर्माणले गति लिएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले सिंहदरबारमा क्षति भएका मूख्य दुई भवनहरु जसमा पूर्वपट्टिको सी आकारको भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन) र पश्चिम पट्टिको मोहडाको प्रबलिकरण (रेक्टोफिटिङ) विधिबाट पुनर्निर्माणको कार्य भइरहेको बताए । मुख्य प्रशासनिक भवन जहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ उक्त भवनको पुनर्निर्माण आगामी कात्तिक महिना भित्रमा सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ ।

भदौ महिना भित्रमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना भाइरसका कारण काममा असर परेकाले कात्तिक महिनाभित्र सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको विश्वकर्माले बताए । पश्चिम पट्टिको मोहडा जटिल प्रकृतिको भएको र बहुमूल्य सामानहरु समेत रहेकाले त्यसलाई जोगाई राख्ने गरी काम भइरहेको उनले बताए । पश्चिम मोहोडाको पुनर्निर्माण २०७८ असोज मसान्तसम्म सक्ने समय सीमा रहे पनि चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको विश्वकर्माले बताए ।

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । २०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छड लगायतका वस्तु प्रयोग गरी जिर्णोद्वार गरिएको थियो । त्यसैले अहिले पनि सिमेन्ट, छड, गिट्टी फलाम लगायत कंक्रिटको प्रयोग गरी ज्याकेटिङ प्रविधिबाट पुनर्निर्माण गरिएको विश्वकर्माले बताए । पश्चिम पट्टिको मोहडामा सुर्खि, चुना, फलाम, सिसा, काठ प्रयोग गरि बनाइएकाले सोही अनुसार नै पुनर्निर्माणको काम अगाडि बढाइएको छ । राणा कालमा जुन वस्तु प्रयोग गरि जस्तो प्रविधिबाट बनाइएको थियो सोही प्रविधि अनुसार नै अहिले प्रबलिकरण भइराखेको विश्वकर्माले बताए । न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार भवनको प्रवलिकरण गरिएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने पूर्व पट्टिको भवनको निर्माण ७५ करोड रुपैयाँ लागतमा सम्पन्न हुनेछ । त्यस्तै पश्चिम पट्टिको मोहडाको भ्याट बाहेक ४० करोड रुपैयाँमा निर्माण सम्पन्न हुने विश्वकर्माले बताए । सिंहदरबारको पूनर्निर्माणको काम तीनवटा प्याकेजमा भएको उनले बताए । भिडियोमा :

 

Logo