ऋणीलाई राहत ! बेसरेट घट्यो, ऋण सस्तियो

ऋणीलाई राहत ! बेसरेट घट्यो, ऋण सस्तियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।  कोरोनाका कारण मर्कामा परेका ऋणीहरुले राहत पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउन थालेपछि बैंकका ऋणीले राहत पाउने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आधारदर घटाउन थालेपछि बैंकको ऋण सस्तिन थालेको हो । आधार दर घटाएपछि ऋणको ब्याजदर पनि स्वतःघट्छ । कोरोनाका कारण बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने माग गर्दै आएका थिए । सोही माग अनुसार अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएर एकल अंकमा झारेका हुन् ।

पछिल्लो समय अधिकांश बैंकहरुले धमाधम सस्तो कर्जा योजना सार्वजनिक गरिरहेका छन् । बैंकहरुको आम्दानीको मुख्य स्रोत नै कर्जा लगानीबाट आम्दानी हुने खुद ब्याज हो । अहिले कोरोनाका कारण विभिन्न उद्योग व्यवसायहरुले पनि ऋणको किस्ता र ब्याज तिर्न सकेका छैन ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले ऋणको किस्ता र ब्याज तिर्ने समय पछि धकेलिदिएको छ । जसका कारण बैंकलाई हुने आम्दानीमा केही ह्रास आएको छ । त्यसका करण बैंकहरुले बेस रेट घटाएरै भएपनि सस्तोमा कर्जा लगानी गर्न चाहान्छन् । कोरोनाका कारण लगानी नहुँदा बैंकमा पैसा थुप्रिएर बसेको छ ।

यस्तो अवस्थामा बैंकलाई लगानी गर्ने तनाव छ । लामो समय बैंकमा पैसा थुपार्दा त्यसले बैंकिङ प्रणालीमा असन्तुलन ल्याउँछ भने समग्र अर्थतन्त्र चलायमान गराउन पनि नकारात्मक प्रभाव पार्छ । त्यसैले बैंकले अहिले कसरी हुन्छ लगानी गर्ने योजनामा बैंकहरु भएकाले बेस रेटलाई आधार बनाएर कर्जा विस्तार गर्न थालेका हुन् । बैंकहरुले बेसरेट भन्दा कममा कर्जा लगानी गर्न सक्दैनन् । त्यसमा केही प्रतिशत थप गरी कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकको व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंकले लगानी गर्दै आएका छन् ।

के हो बेसरेट ?

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै बेस रेट हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा कम कुनै पनि बैंक तथा बित्तीय संस्थाले ब्याजदर लिन पाउंदैनन् । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

बैंकमा तरलता बढ्दै जाँदा लगानी योग्य रकम बढ्दै जाँदा कर्जाको माग कम हुँदै गएकाले बैंकहरुले सस्तो ब्याजदरमा नै सवारी, घर जग्गा, साना तथा मझौला लगायतका कर्जाका स्कीमहरु ल्याएका छन् ।

यस्ता स्कीम ल्याउने बैंकहरुमा सानिमा,एनआइसी एशिया,सनराइज र ग्लोबल आइएमई लगायतका बैंकहरु रहेका छन् । अहिले संचालनमा रहेका कुल २७ वटा वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकले ब्याजदर एकल अंकमा झारेका छन् ।

पूर्ण सरकाकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि आँफुले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर एक अंकमा झारेको छ । बैंकले सबै प्रकारका कर्जाको ब्याजदर १० प्रतिशत भन्दा कममा झारेको छ । बैंकले गत बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुका लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशतमा झारेको छ ।

यस बैंकको वेसरेट ६.०७ प्रतिशत रहेको छ । त्यस्तै, सिभिल र सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यस बैंकबाट ऋण लिँदा पनि ऋणीलाई सस्तो पर्नेछ । बैंकबाट ऋण लिँदा अभिकतम १५ प्रतिशतसम्म ब्याज लाग्ने छ । त्यस्तै,ओभरड्राफ्ट कार्ड, माइक्रो ग्रुप ग्यारेन्टी बेस लोन लिँदा १५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

त्यस्तै,सिद्धार्थ बैंकको असार मसान्तसम्म आधार दर ९.०३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.०३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन,शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज लाग्ने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबै वाणिज्य बैंकहरुको भन्दा कम छ । सबैभन्दा बढी सिभिल बैंकको १०.५१ प्रतिशत छ । नेपाल बैंक ७.३३ प्रतिशत, नबिल बैंक ७.३२ प्रतिशत, स्ट्याण्डर्ट चार्टर्ड बैंक ७.२७ प्रतिशत रहेको छ । असार मसान्तसम्म वाणिज्य बैंकले ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २९ खर्ब ३ अर्ब रुपैयाँ मात्र प्रवाह गरेका छन् ।

Skip This
Skip This
Logo