काठमाडौं ।
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएपछि के–के काम गरेँ भनेर श्वेतपत्र जारी गर्न तयार रहेको बताएका छन् । महानगरको वडा नं.–१८ मा पुष्पलाल स्मृतिपार्क निर्माण सम्पन्नको उदघाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । पुष्पलाल पार्क उद्योग, पर्यटन वातावरण मन्त्रालय, वागमती प्रदेश र महानगरको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उदघाटन गरेका छन् ।
उदघाटनपछि सम्वोधन गर्दै नेपालले पुष्पलालको सम्झनामा उहाँकै ४२ औँ स्मृति दिवसको अवसर पारेर पार्क उदघाटन गर्न पाउँदा खुशी लागेको बताए । ‘विष्णुमति वारी पुष्पलालको शालिकसहितको पार्क निर्माण भयो, पारीपट्टी शोभा भगवतीमा गंगालालको शालिकसहितको पार्क छ,’ नेपालले भने, ‘नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेका योद्धाहरुका सालिक वरीपरी देख्दा र इतिहासका पन्ना पल्टाउन पाउँदा मन आनन्दित हुन्छ ।’ उनले भने ।
कार्यक्रमलाई सम्वोधन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरुप महानगर अघि बढेको स्मरण गराएउदै उनले ‘काठमाडौँ महानगर क्षेत्र भित्रका मूर्त–अमूर्त सम्पदाको संरक्षण तथा सम्वद्र्धनको कामलाई तिव्रताका साथ अघि बढाउँछौं ।’

प्रमुख शाक्यले आगामी दिनमा नदी किनारको सौन्दर्यीकरण गरेर अघि बढ्ने बताए । वडा वडामा भएका यस्ता कार्यमा महानगरको निरन्तर सहयोग र सहकार्य रहने पनि उनले प्रष्ट पारे । ‘अहिले वडा–१८ मा पार्क निर्माण भएको छ । पार्क निर्माणको काम यतिमा मात्रै सिमित रहन्न । वडा–१७ सम्म यही पार्कलाई जोडेर निर्माण गर्ने तयारी सुरु भएको छ । तर, मेयरका लागि वडाको सिमाना छैन । हरेक वडा–वडामा यही आर्थिक वर्ष मात्रै ३० वढी पार्क निर्माण गर्ने योजना अघि बढाएका छौँ ।’
विगतमा सयौँ रोपनी जग्गा व्यक्तिले आफ्नो जग्गा भित्र पारेको र लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताए । ‘धेरै ठाउँमा पार्क निर्माण भैसकेका छन् । धेरै ठाउँमा बन्ने प्रक्रियामा छन्,’ उनले भने, ‘धेरै वडाध्यक्षहरुले कतै अख्तियारमा त कतै अदालतमा मुद्धा खेपिरहनु भएको छ ।
व्यवसायिक अभियन्ता विकासमा वाधक
महानगर क्षेत्र भित्रका मूर्त–अमूर्त सम्पदाको संरक्षण तथा सम्वद्र्धनको कामलाई महानगरले तिव्र रुपमा अघि बढाएको उनले जानकारी दिए । ‘अभियन्ताप्रति सम्मान छ । तर, कतिपय अवस्थामा व्यवसायिक अभियन्ताका कारण सम्पदा निर्माण–पुनर्निर्माणमा समस्या आउने गरेका छन् ।
मिशन चलाउनेहरुका लागि श्वेतपत्र जारी गर्न तयार छु
प्रमुख शाक्यले आफू कुनै पार्टीबाट मेयरको उम्मेदवार बने पनि निर्वाचित भएपछि महानगरवासी सबैको मेयर भएको भन्दै महानगरवासीको हितलाई सर्वोपरी ठानी काम गरिरहेको बताए । ‘केही युवाले मेरो र पार्टीका वरिष्ठ नेताका बीचमा विवाद ल्याउन केही मिशन पनि चलाए । सबैले बुझेपछि आफैँ सेलाएर गए,’ उनले भने, ‘मिशन चलाउनेहरुलाई हामीले सहयोग गर्न आवश्यक छैन र गर्दैनौँ पनि ।’ उनले न्युरोडको महर्जन कम्प्लेक्स, रानीपोखरी, टुँडिखेल लगायतका सन्दर्भमा पनि केहीले भ्रम पैदा गर्ने काम गरेको र आफूलाई वद्नाम गर्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे ।
मेयर शाक्यले आफूले गरेका कामको श्वेतपत्र जारी गर्न तयार रहेको चुनौति समेत दिएका छन् । ‘म निर्वाचित भएर आएपछि के–के काम गरेँ श्वेतपत्र जारी गर्न तयार छु । तर, आफू नेतृत्वमा रहेका बेला सिन्को नभाच्ने अनि नेतृत्वबाट हट्ने वित्तिकै मिशन चलाएर अरुलाई बद्नाम गर्ने कुरा उचित होइन ।’ मेयर शाक्यले दरबार हाइस्कुल चार तलाको निर्माण भएको नदेख्नेहरुले अन्य ठाउँमा सम्पदा मिचियो भन्दै कराउने कुरा सान्दर्भिक नभएको बताए ।
०५१ साल अघिसम्म सुकुम्वासी बस्ती रहेको त्यहाँ सुरुमा वृक्षारोपण गरिएको थियो । वडाध्यक्ष महर्जनका अनुसार २०६५ सालमा त्यहाँ पुष्पलालको शालिक निर्माण गरिएको थियो । अहिले मायादेवी र सिद्धार्थ गौतमको समेत मूर्ति स्थापना गरेर विष्णुमतिको समेत सौन्दर्यीकरण गरिएको छ ।





























प्रतिक्रिया