काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गरेका छन् । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन् ।
‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईंहरुको दायित्व हो,’ उनले भने, ‘महानगरबासी, कर्मचारी र जनप्रतिनिधिबीच आत्मीय सम्बन्ध बिकास गर्दै र समन्वयलाई प्रभावकारी बनाउँदै परिणाममापन हुने गरी काम गरौं ।’
उनले काठमाडौँ महानगरका कर्मचारीहरुसँग अन्य स्थानीय तह सञ्चालनका बिषयमा विभिन्न स्थानीय तहमा गएर प्रशिक्षण चलाउन सक्ने क्षमता भएको भन्दै त्यो क्षमता आफ्नै कार्यालयमा पनि देखाउन सुझाव दिए । ‘यहाँका अधिकांश कर्मचारी क्षमतावान छन् । त्यसैले महानगरको समृद्धिका लागि त्यो क्षमताको उपयोग गरौं,’ प्रमुख शाक्यले भने, ‘मलाई नीति चित्त बुझेन, कार्यक्रम चित्त बुझेन, म यो काम गर्दिन भन्ने छुट कर्मचारीलाई हुँँदैन । सार्वजनिक सेवा प्रवाह गर्दा सहज र सर्वसुलभ ढंगले प्रवाह गर्नुहोला ।’
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वृत्ति बिकास, पदोन्नति जस्ता बिषयमा निराशा देखाएर कर्मचारीले बजेट, नीति तथा कार्यक्रमको लक्ष्य अधुरो बनाउने कुराले सकारात्मक परिणाम नदिने बताए । ‘बार्षिक समीक्षामा कामको वित्तीय र भौतिक प्रगति थाहा पाउनु पर्छ । दिएको लक्ष्य पूरा गर्ने गराउने क्रममा समस्या देखाउने छुट हुँदैन,’ उनले भने, ‘समस्या समाधान गरेर परिणाम ल्याउने गरी तपाईँहरु लाग्नुपर्छ ।’ उनले कोभिड–१९ का कारण केही महिना काममा अवरोध भएको भन्दै त्यसअघिका परिणाम के थिए ? कार्यक्रम सञ्चालन गर्दा, कसले कति लाभ पाए ? त्यसको पनि लेखाजोखा हुनुपर्नेमा जोड दिए ।
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिएन । ‘तथ्याङ्कमा आधारित समीक्षा प्रणालीको बिकास गर्नुपर्छ,’ उनले भनिन् । त्यस्तै, सहसचिव राजेश्वर ज्ञवालीले सामुहिक हितका काम गर्न नेतृत्वको निर्णय गर्ने क्षमता आवश्यक पर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रममा आगामी दिनमा महानगरले गर्ने खर्चबाट स्थानीयमा प्राप्त भएको लाभलाई प्रगति सूचकको मुख्य बुँदाका रुपमा राख्ने, आन्तरिक तथा वाह्य समन्वय र सूचना प्रणालीमा सुधार गरेर काठमाडौंलाई स्थानीय तहको नेतृत्वदायी संरचना बनाउने कुरामा जोड दिएको छ । स्मार्ट शासन/प्रशासन, स्मार्ट सेवा प्रवाह र व्यवस्थापन, सेवामा पारदर्शिता र जवाफदेहिता, एकीकृत र समन्वयात्मक बिकास जस्ता विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।
समीक्षा कार्यक्रममा प्रस्तुतिकरण गर्दै स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्राबिधिक क्षेत्रका जनशक्ति कम हुनु, महामारी आउनुजस्ता कारण देखाइएको थियो । महालेखा परीक्षकको कार्यालयले देखाएको वित्तीय अनुशासन कायम गराउन थप तत्परता देखाउनु पर्ने जस्ता विषय पनि समिक्षामा उठेका थिए । महानगरपालिकाले सबै बिभागको प्रगति सम्बन्धि तथ्य संकलन गरेर प्रतिवेदन तयार गर्न निर्देशक दिपक अधिकारी र उपनिर्देशक प्रल्हाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।





























प्रतिक्रिया