महानगरद्वारा प्रसुतिगृहलाई पीसीआर र वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन प्रदान

महानगरद्वारा प्रसुतिगृहलाई पीसीआर र वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो ।

असार ११ गते तातोपानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झासजियकन सहितको टोलीले काठमाडौँ महानगरपालिकाको टोलीलाई हस्तान्तरण गरेका ती सामाग्री पैदल मार्गबाट सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो ।

१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वास्थ्य सामाग्री मध्ये आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रसुतिगृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिए।

प्रसुतिगृहलाई हस्तान्तरण गरिएको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित गरेको ल्हासा सहरले अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री दुई अस्पताललाई हस्तान्तर गरेको बताए । ‘हामीलाई ल्हासा सहरले पहिलो चरणमा केही सामग्री पठाएको थियो । त्यही सामाग्री हामीले स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय गरेर वीर अस्पताल र प्रसुतीगृहलाई हस्तान्तरण गरेका हौँ,’ शाक्यले भने, ‘यो अहिलेको अवस्थामा पर्याप्त सहयोग होइन । तपाईंहरुले हामीले अपेक्षा गरे अनुसार नै जति सक्दो बढीलाई सेवा दिनुहोला र यसको उच्चतम सदुपयोग गर्नुहोला । आगामी दिनमा थप सहयोग गर्न हामी तयार छौँ ।’

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले आगामी दिनमा पनि महानरपालिकासँग थप सहयोगको अपेक्षा गरेको बताए। प्रसुतीगृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले पनि महानगरपालिकाले यस्तो अवस्थामा गरेको सहयोगको खुलेर प्रशंसा गरे ।

Logo