नेकपामा को राष्ट्रवादी, को राष्ट्रघाती ?

नेकपामा को राष्ट्रवादी, को राष्ट्रघाती ?

केन्द्रबिन्दु
0
Shares

प्रचण्डको अभिव्यक्तिले फेरि एकपटक नेकपाभित्र ‘को राष्ट्रवादी र को राष्ट्रघाती ? ’ भन्ने बहसलाई निम्ता गरेको छ । प्रचण्डले यी कुरा किन सम्झिए भने उनीमाथि अहिले ओली पक्षबाट सरकार हटाएर राष्ट्रघाती काम गर्न खोजेको जस्तो गरी प्रहार भइरहेको छ ।

तीन बिषय

१. नक्सा जारी गर्ने भूमिका कसको ?

२. सरकार परिवर्तन केका लागि ?

३. एमसिसी सम्झौता हुबहु कि संशोधन ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार र आइतबार चितवन पुगेर ‘पार्टीभित्र कोही राष्ट्रघाती र कोही महान राष्ट्रवादी नभएको’ अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिले फेरि एकपटक नेकपाभित्र ‘को राष्ट्रवादी र को राष्ट्रघाती ?’ भन्ने बहसलाई निम्ता गरेको छ ।

अहिले यो समयमा किन दाहालले पार्टीभित्रका राष्ट्रवादी र राष्ट्रघातीका प्रसंग उठाउनु पर्‍यो ? यसलाई बुझ्न केही दिनअघि प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई जोडेर हेर्नुपर्छ ।

प्रधानमन्त्री ओली तीन हप्ता अघि मदन भण्डारीको जन्मजयन्तीमा एकै पटक तीन वटा महत्वपूर्ण कुरा गरे ।

पहिलो : ‘आफूलाई हटाउन भारतीय षड्यन्त्र भइरहेको र त्यसका लागि भारतीय राजदूतको चलखेल भइरहेको’ ।

दोस्रो : नेपालको नक्सा जारी गरे वापत् यस्तो चलखेल भइरहेको ।

तेस्रोः यस्तो चलखेलमा स्वदेशी शक्तिहरु पनि लागेको ।

प्रधानमन्त्री ओलीले दिएको यो अभिव्यक्ति आफ्नै दलका नेताहरुप्रति पनि इंगित थियो । किनभने ओलीलाई हटाउनका लागि दाहाल र नेपाल लगायतका नेताहरु दिनहुँ बैठक गरिरहेका थिए ।

पार्टी भित्रको बहुमतको बलमा ओलीको राजीनामा माग्ने तयारी भएपछि झस्किएका ओलीेले ‘राष्ट्रवाद’को पासा फाले । नक्सा जारी गरेका कारण भारत चिढिइरहेका बेला जसले हटाउन चाहन्छ त्यो ‘राष्ट्रघाती’ हो भन्ने सन्देश दिन पहिले नै ओलीले त्यस्तो अभिव्यक्ति दिएका थिए ।

यो अभिव्यक्तिले दाहाल–नेपाल लगायतका नेताहरुलाई चिमोट्यो । किनकी यदि ओलीलाई हटाइयो भने राष्ट्रवादी सरकारलाई हटाइयो भनेर प्रचार हुन्थे ।

अहिले विवाद केही मत्थर भएको अवस्थामा दाहालले फेरि यो कुरालाई कोट्याएका छन् । उनले ‘पार्टी कोही महान राष्ट्रवादी छैनन्’ भनेर अहिले ओलीप्रति संकेत गरेका हुन् । किनकी विभिन्न कालखण्डमा गरेका कामले ‘को कति राष्ट्रवादी छ ?’ भन्ने कुरा स्पष्ट हुने भन्दै दाहालले आफूले विगतमा भारतीय परनिर्भरता अन्त्य लगायतमा गरेका कामको फेहरिस्त चितवनमा सुनाए । उनले केही मुख्य कुराहरु सहित प्रश्न गरेः

म प्रधानमन्त्री हुँदा चीनसँग बिआरआईमा सम्झौता भयो, यो लम्पसारवाद हो ?

फाष्ट ट्रयाकको निर्माणको जिम्मा नेपाली सेनालाई दिए“ । के यो लम्पसारवाद हो ?

लोडसेडिङ अन्त्य भयो । यो लम्पसारवाद थियो ?

केन्द्रीय समितिले अबिलम्ब नक्सा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो । के यो लम्पसारवाद हो ?

किन यो बेलामा दाहालले यी कुरा सम्झिए भने उनीमाथि अहिले ओली पक्षबाट सरकार हटाएर राष्ट्रघाती काम गर्न खोजेको जस्तो गरी प्रहार भइरहेको छ । त्यसैले यसको जवाफ दिन दाहालले यसरी बोलेका हुन् ।

नेकपामा अहिले ओली मात्र होइन सबै नेताहरु नै राष्ट्रवादी देखिन चाहन्छन् । त्यसैले अहिले भइरहेका राष्ट्रवादी कामको एकल जिम्मा आफूले लिन खोजेको उनीहरु ओलीप्रति असन्तुष्ट छन् ।

ओलीले संविधान जारी गरेपछि भारतसँगका सबै खालका सम्बन्ध र नेपालको राष्ट्रियताको पक्षमा भएका निर्णयहरुमा आफ्नो एकल स्वामित्व लिने प्रयास गरेका छन् । तर, त्यो मात्र यथार्थ नभएको तर्क दाहाल लगायतका नेताहरुको छ । त्यसैले अहिले नक्सा जारी गरेको बिषयमा ओलीले आफूले मात्र जारी गरेको भन्ने मान्यता स्थापित गर्न थालेपछि अरु नेताहरु पनि यो बारेमा बोल्न थालेका छन् ।

जस्तो दाहालले चितवनमा आइतबार आफ्नो नेतृत्वमा बसेको मंसिरको स्थायी कमिटि बैठकले नक्सा जारी गर्न सरकारलाई सुझाव दिएको र पछि केन्द्रीय समितिले पनि त्यही कुरा भनेको भन्दै आफूले क्रेडिट लिन खोजे । त्यस्तै यसअघि नेपालले आफ्नो नक्सा आफै जारी गर्नुपर्छ भनेर आफूले पार्टीका सचिवालयमा सबैभन्दा पहिले प्रस्ताव राखेको भनेर उपाध्यक्ष बामदेव गौतमले विज्ञप्ती नै जारी गरेका थिए ।

ओलीको एकल पहलमा मात्र नक्सा जारी गर्न सम्भव भएको हो भन्ने खालका कुरा आएपछि गौतमले त्यसको खण्डन गर्ने हिसाबले विज्ञप्ती जारी गरेका थिए ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पनि सरकारको नीति तथा कार्यक्रम पेश गर्नु अघि बसेको पार्टी सचिवालय बैठकमा नक्साको कुरा नसमेटिएपछि आफूले त्यही बैठकमा ओलीलाई नक्साको कुरा हाल्न भनेको र नेताहरुको दवावपछि ओली नक्सा जारी गर्ने कुरा गर्न तयार भएको भन्दै सार्वजनिक रुपमा भनिसकेका छन् । त्यसैले यो बिषय एकल निर्णयमा नभएको उनीहरु स्थापित गराउन खोज्दैछन् ।

नेकपाभित्र ‘को राष्ट्रवादी र राष्ट्रघाती ?’ भन्ने बहसमा अहिले अमेरिकासँगको एमसिसी सम्झौता पनि जोडिएको छ । अमेरिकाको एमसिसी सम्झौता निशर्त अनुमोदन गर्नुपर्ने पक्षमा ओली छन् । उनको यो अडानलाई दाहाल नेपाल लगायतका नेताहरुको समुहले भने ‘राष्ट्रघाती’को रुपमा चित्रित गर्न खोज्दैछ ।

किनभने यो सम्झौता अनुमोदन हुदा नेपालको विकासको नया“ फड्कोमा अघि बढ्ने ओलीको तर्क छ । तर दाहाल नेपाल लगायतका नेकपाका असन्तुष्ट समूह यो सम्झौताले नेपालका लागि राष्ट्रघाती हुने भन्दै व्याख्या गरिरहेका छन् । यी बिषयमा नेकपाभित्र तीब्र विवाद छ ।

त्यसैले एमसिसी अनुमोदन हुन सकेको छैन । एमसिसीको विपक्षमा रहेर दाहाल लगायतका नेताहरु राष्ट्रवादी कित्तामा उभिन खोज्दैछन् ।
कम्युनिष्ट पार्टीका इतिहासमा विभिन्न समयमा यस्ता को कति राष्ट्रवादी र को राष्ट्रघाती भन्ने विवाद र बहस पर्याप्त हुने गरेका छन् ।

इतिहासको त्यस्तै दृश्य यसपटक पनि नक्सा जारी गर्ने, सरकार परिवर्तन गर्ने र एमसिसी सम्झौता अनुमोदन गर्ने जस्ता बिषयमा पनि देखिएका छन् । विगतमा यस्ता बहस र विवाद चर्किदा कम्युनिष्ट पार्टी फुटेका उदाहरण पनि छन् ।

यसपटक त्यो हदसम्म त नपुग्ला तर को राष्ट्रवादी र को राष्ट्रघाती भन्दै एक अर्कालाई पोल्ने श्रृंखला भने लामै चल्न सक्छ । किनभने करिब मत्थर हुन लागेको यो बिषयलाई अध्यक्ष दाहालले चितवनबाट फेरि बल्झाइदिएका छन् ।

Logo