‘बाढी–पहिरो प्रभावितको उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदैछ’ : प्रधानमन्त्री

‘बाढी–पहिरो प्रभावितको उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदैछ’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाएका छन् । बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा शुक्रबार नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेना, प्रहरी, कर्मचारी, सिङ्गो संयन्त्र र सम्बद्ध निकाय नेपालका जुनसुकै भूभागमा आइ पर्ने यस्ता सङ्कट र समस्यामा आफ्ना नागरिकको साथमा रहँदै आएको बताए।

केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखित तुल्याएको जनाउँदै उनले प्रभावितको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा सङ्घीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको स्पष्ट गरे ।

“उद्धारका साथै नागरिकहरु विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिएको छ”, प्रधानमन्त्री ओलीले भने, “यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ मिल्दैन । तसर्थ, जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ता, सबै जनता एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन म विशेष आग्रह गर्दछु ।”

‘पार्टी विवादको समाधान आन्तरिक छलफलबाट’

महामारी र प्राकृतिक विपत्तिका समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक भएकाले त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको बताए । “पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्य र संयम आवश्यक हुन्छ ।” प्रधानमन्त्री ओलीले भने, “अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आपसी एकता बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।”

उनले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्नेमा जोड दिँदै भने, “मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जीउधनको रक्षामा केन्द्रित छ ।”

Logo