एक सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने

एक सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारमा १ सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको नविकरण हुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । न्यूनतम १ सय जना कामदार पठाए मात्र नविकरण गर्न सकिने कानुनी व्यवस्था छ । तर वर्तमान परिस्थितिका कारण कानुन मन्त्रालयको सल्लाहअनुसार बाधा अडकाउ फुकाउमार्फत नविकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषद्मा पठाउन लागिएको मन्त्री यादवको भनाइ छ ।

उनले यसअघि दुई पटकसम्म मन्त्री परिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानुन मन्त्रालयको सहमति लिएर काम गर्न लागेको जानकारी दिए । वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरुको नविकरण गर्ने सम्बन्धमा भने कानुन मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको मन्त्री यादवको भनाइ छ ।
त्यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुआत गर्न माग गरे । उनले असार मसान्तभित्र नविकरण गरिसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नविकरणको प्रक्रियाको सुरुआत गर्नुपर्ने बताए ।

सरकारको निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको उनको भनाइ छ । त्यसैले असार मसान्त पूरा हुन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रिया गर्ने वातावरणको सृजना गर्न आग्रह गरे । समितिको छलफलमा सांसदहरुले १ सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको तर कोभिड–१९ को विशेष परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् । कानुनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुको भनाइ छ ।

त्यस्तैगरी वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताए । उनले पुनः श्रम स्वीकृति लिनेहरुका लागि भने अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको उनको भनाइ छ । साथै उनले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् । व्यवसायीहरुले न्यूनतम १ सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन् ।

Skip This
Skip This
Logo