देशभर अविरल वर्षा : उच्च सतर्कता अपनाउन जिल्लावासीमा काभ्रे प्रशासनको आग्रह

देशभर अविरल वर्षा : उच्च सतर्कता अपनाउन जिल्लावासीमा काभ्रे प्रशासनको आग्रह

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।

कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लाका स्थानीय तथा सरोकारवाला निकायलाई बिहीबारदेखि मनसुन सक्रिय रहेकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अवरुद्ध हुन सक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७७ अनुरुप सबै सरोकारवाला निकायमा आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरण कार्यमा उच्च सतर्कता अपनाउन स्थानीय तह लगायत सरोकारवाला निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

स्थानीय तह एवं सरोकारवाला निकायले पूर्वतयारीस्वरुप गरिएको कार्यको जानकारीसमेत मागिएको तिमल्सिनाले बताए । काभ्रेमा छ नगर र सात गाउँपालिका छन् । काभ्रे भएर ठूला नदी सुनकोशी, इन्द्रावती र रोशी बग्ने गरेका छन् । देशका विभिन्न स्थानमा वर्षाका कारण घटना भइरहेकाले पनि जिल्लाका बासिन्दामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला हुँदै बग्ने ठूला नदीमा बिहीबारदेखि बहाव बढिरहेकाले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको हो । “विशेष गरी ठूला नदी छेउछाउका बस्तीलाई विशेष निगरानी गर्नु पर्ने देखिएको छ, उच्च सतर्क रहन पनि आग्रह गरेका छौँ”, तिमल्सिनाले भने। जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमा समेत बाढी आइरहेका छन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बुधबार रातिको अविरल वर्षाका कारण बाढी–पहिरोले बाह्रबिसे नगरपालिका–५ गातीस्थित जम्बू बजार र खागदल बस्ती तथा भोटकोशी गाउँपालिका–५ को बुल्कोटीका ३६ घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो । २० अझै वेपत्ता रहेका छन् भने सात घाइते भएका थिए । गम्भीर घाइते पाँचलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको छ । बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।रासस

Logo