विपद व्यवस्थापनमा नयाँ रणनीतिका साथ अगाडि बढ्न गृहमन्त्रीको निर्देशन

विपद व्यवस्थापनमा नयाँ रणनीतिका साथ अगाडि बढ्न गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिलेसम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरुलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए । उनले घटना हुनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत निर्देशन दिए ।

उनले भने, ‘अब यसलाई कसरी समाधान गर्ने यो संकटलाई अहिले आएको र अब आउने भावि संकटलाई भनेर दुईवटा कुरा गर्न जरुरी छ । अब हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरु सबै सरोकारवाला संघ संस्थाहरु यससँग आवद्ध छन् । हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पु¥याउन जरुरी छ । जसलाई हाइ एलर्ट हामी भन्छौं । हामी हाइ अलर्टको अवस्थामा रहन जरुरी छ चौविसै घण्टा । मलाई लाग्छ पक्कै पनि हाम्रा सबै सम्बद्ध संस्थाहरु विभागहरु सतर्क नै हुनुहुन्छ तर यति सतर्कताले पुग्दैन । यसलाई अझ बढाउन जरुरी छ भन्ने लाग्छ ।’

गृहमन्त्री थापाले जेठदेखि नै मनसुन सुरु भएको र भदौ सम्म रहने भएकाले यसबाट उत्पन्न हुने संकटको सामना गर्ने सन्दर्भमा नयाँ नीति र योजनाहरु अपनाउनु पर्नेमा जोड दिए । मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आँकलन गरिएको बताए । जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आगामी दिनमा ठूलो वर्षा हुने अनुमान पनि गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आई धनजनको क्षति ल्याउने सम्भावनाहरु प्रवल देखिएको बताए । उनले संकटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौति बढेको बताए ।

उनले देशले चारवटा संकट एकैपटक बेहोर्नु परेकाले चुनौति पनि बढी नै रहेको बताए । कोरोना भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रमा परेको संकट, लामो समय लकडाउन हुँदा समाजमा परेको संकट र मनसुन छिटो हुँदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नु परेकाले चुनौति धेरै रहेको गृहमन्त्री थापाले बताए ।

Logo