काठमाडौं ।
भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ । पाँच लाख सात हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६४३ घर पुनर्निर्माणको क्रममा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
घर पुनर्निर्माणका लागि सात लाख ८६ हजार १४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनाकारी दिए।
प्राधिकरणका अनुसार भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोटमा ६४ हजार १२४ र गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् ।
“प्राधिकरणले ६ लाखभन्दा बढी गुनासाहरु सम्बोधन गरेका छन्”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, “प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने छ ।” भूमिहीन र सुकुम्वासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको छ, उनले भने ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताए।
प्राधिकरणको म्याद आगामी पुसमा सकिँदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ । प्राधिकरणले ४०२ गुम्बाको मर्मत सम्भारको काम भएको र ११७ गुम्बा पुनर्निर्माणका कार्य आगामी आर्थिक वर्षका लागि स्वीकृत भएको जनाएको छ ।





























प्रतिक्रिया