ललितपुरको महालक्ष्मी नगरपालिकामा फेरि लकडाउन, पसल व्यवसाय बन्द गर्न निर्देशन

ललितपुरको महालक्ष्मी नगरपालिकामा फेरि लकडाउन, पसल व्यवसाय बन्द गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमितहरुको संख्या बृद्धि भएसँगै ललितपुरको महालक्ष्मी नगरपालिकाले लकडाउनलाई कडाइ पार्ने भएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ मा कडाइका साथ लकडाउन लागू हुने घोषणा गरेको हो । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखित तीन वटा वडाभित्र रहेका औषधि र खाद्यन्न पसलबाहेकका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने उल्लेख छ।

त्यस्तै औषधि पसल र क्लिनिकहरु चौविसै घण्टा संचालन गर्न दिने तर खाद्यान्न पसल एक मिटरको दूरी कायम गरी बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ ।

त्यस्तै सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवा बाहेकका सबै सेवा बन्द गरिने सूचनामा उल्लेख छ । नगरपालिकाले अति आवश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन, निस्किनु परे अनिवार्यरुपमा मास्क लगाउन पनि अनुरोध गरेको छ। लकडाउन भोलि २५ गते बिहान ५ बजेदेखि लागू हुनेछ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरूको संख्या दिनहुँ बढ्दो छ। आज काठमाडौँ उपत्यकामा थप २३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकामा हालसम्म २९० जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १९१ काठमाडौंका, ४८ ललितपुर र ४३ जना भक्तपुरका छन् ।

आज नेपालभर थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर हालसम्म १६ हजार ४२३ जनामा कोरोना संक्रमण भईसकेको बताए।

मन्त्रालयका प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

Logo