काठमाडौं ।
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बजेट सुझावसहित सर्वसहमतिले पारित भएको छ । महानगरको नगरसभा सातौँ अधिवेशनले आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम, आर्थिक बर्ष ०७७/०७८ को बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, ०७७ र आर्थिक विधेयक, ०७७ सर्वसहमतिले पारित गरेको हो ।
नगरसभाले लेखा समिति, सुशासन समिति र न्यायिक समितिको प्रतिवेदनमाथि पनि छलफल गरी कार्यान्वयका लागि आवश्यक निर्णयका लागि कार्यपालिका बैठकमा पठाउने निर्णय समेत गरेको छ । असार ४ गते बसेको नगरसभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो । असार १० गतेको नगरसभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सभा समक्ष पेश गरेका थिए ।
त्यसैगरी असार १८ गते बसेको तेस्रो बैठकले आर्थिक विधेयक, ०७७ सर्वसहमतिले पारित गरेको थियो । नगरसभा सातौँ अधिवेशनको चौथो तथा अन्तिम बैठकले आर्थिक बर्ष ०७७/०७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, ०७७ सुझावसहित सर्वसहमतिले पारित गरेको हो ।
प्रमुख शाक्यले अन्तिम बैठकमा सम्वोधन गर्दै सकेसम्म बजेटको सिलिङ तलमाथि नपर्ने गरी नगरसभा सदस्यहरुको भावनालाई समेट्ने प्रतिवद्धता व्यक्त गरेका थिए । महानगरले बजेटमा हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावले घरभाडामा बस्ने नगरबासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष ०७६/७७ मा बुझाउनु पर्ने घरबहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने कुरा समावेश गरेको छ ।































प्रतिक्रिया