काठमाडौं ।
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारु आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति दिन नसकिएको बताउनु भएको छ । उनले आयोगका सदस्यहरुको नियुक्ती नहुँदा सम्म कुनै पनि क्रियाकलापलाई गति दिन नसकिने स्पस्ट पारे । थारु आयोगले गर्ने कार्यको पहिचान भइसकेको तर सदस्यहरुको नियुक्ती नहुँदा काम गर्न समस्या परेको गुनासो गरे ।
उनले थारु आयोगको इतिहास अध्ययन गर्ने कार्य महत्वपूर्ण भएकाले अहिले त्यस तर्फ ध्यान दिइएको बताए । अवको १० वर्ष भित्रमा थारु संस्कृतिको अध्ययन नगरी संरक्षण नगरे सबै संस्कृति लोप हुन सक्ने भएकाले आयोगको ध्यान त्यसतर्फ केन्द्रीत भएको चाधरीले स्पस्ट पारे । उनले राज्यको नीति निर्माण तहमा आयोग रहे पनि समन्वय नगरी काम गरिएकाले थारुका समस्या समाधानका लागि ठोस कदम चाल्न नसकिएको बताए । नीतिगत रुपमा स्पस्ट हुन नसक्दा कमलरी, कमैया लगायतका समस्याको समाधान अझै पनि हुन नसकेको अध्यक्ष चौधरीले बताए । सरकारले कमैया मुक्तीको घोषणा गरेको तर व्यवस्थापनमा ध्यान नदिएका कारण समस्या कायमै रहेको समेत बताए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले थारु समुदायका भाषा संस्कृतिको संरक्षण गर्ने तर्फ थारु आयोगले विशेष काम गर्नुपर्ने बताए । उनले थारु समुदायमा धेरै राम्रा प्रथा रहेकाले त्यसको संरक्षण गरी आयोगले आफ्ना क्रियाकलापलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
नेकपाका सांसद खेमप्रसाद लोहनीले देशको सीमानामा बसेर देशको संरक्षण गर्ने थारु समुदायलाई सशक्त बनाउन सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए । थारु आयोगको समितिलाई पूर्णता दिने र क्षमता वृद्धि गरी शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सरकारले ठूलो लगानी गर्नुपर्ने उनले बताए ।
नेकपाका सांसद नारायणप्रसाद खतिवडाले आयोग गठन भएको दुई वर्ष भइसक्दा पनि तल्लो तहसम्म पुगेर काम गर्न नसकेको बताए । उनले वार्षिक प्रतिवेदनमा लक्ष्य र उद्देश्य, सम्भावना र चुनौतिको बारेमा केही उल्लेख भए पनि आयोगले गर्ने कार्यलाई पूर्णता दिन नसकेको प्रतिवेदनमा देखिएको बताए । उनले थारु आयोग संवैधानिक आयोग भएकाले तल्लो तहसम्मका समस्या समाधानका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले जातिय आयोग, थरिय आयोग, भेगिय आयोग कति वटा बनाउने र काम गर्ने भन्ने सम्बन्धमा छलफल गरी सबै क्षेत्रको समस्या समाधानका लागि संवैधानिक आयोग चाहिन्छ कि चाहिंदैन भन्ने विषयमा समिक्षा गर्नुपर्ने अवस्था आएको बताए ।
नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले आयोगले पूर्णता नपाउँदा सम्म धेरै काम खोजेर पाउन नसकिने बताइन् । उनले आयोगलाई पूर्णता दिन नसक्दासम्म कुनैपनि प्रगतिको अपेक्षा नगर्न आग्रह गरे ।
सांसदहरुले आयोगको उद्देश्य र कार्यक्रमहरुको विषयमा स्पस्ट हुन थारु आयोगका अध्यक्ष चौधरीलाई आग्रह गरेका छन् । तल्लो तहसम्म पुगेर थारु समुदायका समस्या समाधान र उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताका लागि गर्नुपर्ने कार्यहरुलाई प्राथमिकता दिएर अगाडि बढ्न सांसदहरुले सुझाव दिएका छन् ।





























प्रतिक्रिया