नेकपा विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

नेकपा विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तरसंघर्ष चुलिइरहेका बेला आइतबार चिनियाँ राजदूत होउ यान्छीले नेकपाका बरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेकी छन् ।

जब नेकपाको आन्तरिक विवाद चुलिन्छ त्यो बेलामा चिनियाँ राजदूतले नेकपा नेताहरुसँग अर्थपूर्ण भेटघाट गर्ने गर्छिन् । सत्तारुढ दल नेकपामाथि आइपरेको आन्तरिक संकटमा सहजीकरण गर्ने प्रयास स्वरुप यस्ता भेटघाट हुन गरेका छन् ।

एकतर्फ नेपालको सरकार ढाल्न भारत संलग्न रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं भनिदिएपछि भारतीय पक्षबाट नेपालको सरकार चीनतर्फ ढल्केको प्रचारवाजी भइरहेको छ । भारतीय चलखेलमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता नेपाल पनि मोहोरा बनिरहेको भन्ने प्रधानमन्त्री ओलीले नै संकेत गरिरहदा चिनियाँ राजदूत यान्छीले नेता नेपाललाई भेटेकी छन् ।

हुन त राजदूतहरुले नेपालका नेताहरुलाई भेट्नु कुनै नौलो हौइन तर कुन समयमा भेटे भन्ने त्यसले भने अर्थ राख्छ । विगतमा नेपालमा भारतीय राजदूतहरुले यसरी नेताहरुलाई भेटघाट व्यापक गर्ने गर्थे । अहिले यस्ता श्रृंखला चिनियाँ राजदूतहरुबाट चल्ने गरेका छन् । कम्यूनिष्ट पार्टी र सरकार पनि उसले गर्ने भएकाले चीनले उनीहरुप्रति सहानुभूति राख्छ ।

अहिले पनि नेकपा विवाद कुनै दुर्घटनातर्फ  नजाओस् भन्ने चिनियाँ चासो छ । त्यसैले मनोबैज्ञानिकरुपमा पनि आफ्नो मनसाय प्रकट गर्न चिनिया राजदूतबाट नेताहरुबाट भेटघाट भइरहेको स्रोतले बताएका छन् ।

स्रोतका अनुसार राजदूत यान्छीले अहिले पार्टीमा भइरहेको अन्तरसंघर्ष, नेताहरुको भूमिकाबारे उल्लेख गर्दै मिलेर जान सन्देश दिएकी छन् ।

दल फुटाउने अध्यादेश जारी भएपछि यसअघि विवाद चर्किएको बेलामा पनि चिनियाँ राजदुृत यान्छीले पालैपालो नेकपा नेताहरु ओली, दाहाल, नेपाललाई भेटेकी थिइन् । गत बैशाख १९ राजदूत यान्छी नेकपा अध्यक्ष दाहाल निवासमा गएर भेटेकी थिइन् । त्यसबेला विवाद उत्कर्षमा थियो । तर त्यो भेटलाई कारोना भाइरस रोकथाम नियन्त्रणका लागि भइरहेको प्रयासकोबारेमा केन्द्रित रहेको भनिएको थियो ।

त्यही दिन दाहालसंग भेटेर राजदूत यान्छी नेकपाका अर्का बरिष्ठ नेता नेपालसंग पनि भेटेकी थिइन् । दाहाल र नेपालसंगको त्यो भेटको अघिल्लो दिन राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । सबै भेट कोरोना भाइरस रोकथाम नियन्त्रणका प्रयासमा केन्द्रित भनिए पनि भेटको समय भने विवादको उत्कर्षमा पुगेको बेला थियो ।

सत्तारुढ दल नेकपाले दुई तिहाई बहुमत ल्याएर सरकारमा आएपछि नेपालमा विगतको भन्दा चीनको बढ्दा चासो प्रकट भएको विभिन्न घटनाक्रमले देखाएका छन् । यही महिनाको सुरुमा नेकपा र चिनिया कम्यूनिष्ट पार्टीको विदेश विभागबीच ‘भर्चुअल’ अन्तरक्रिया भयो ।

करिब प्रशिक्षणात्मक खालको अन्तरक्रियामा चिनियाँ नेताहरुले पार्टी सञ्चालन, त्यसका पद्धतिबारे चासो राखेका थिए । कोरोना संक्रमण बढेपछि दुई महिना अघि नेकपाको विदेश विभागसँग पनि छुट्टै भर्चुअल अन्तरक्रिया भएको थियो । नेकपामाथि चीनको सहानुभूति कति छ भन्ने हेर्न गत बर्ष भएको चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाइ पनि लिन सकिन्छ ।

बर्षौदेखि नेपालमा चीनका प्रमुख नेता आएका थिएनन् । अहिले विश्व-महाशक्ति बन्दै गरेको राष्ट्र चीनका राष्ट्रपति गत बर्ष नेपाल भ्रमण आउनु निकै ठूलो कुरा भयो । कम्यूनिष्ट पार्टीको सरकार र त्यसप्रतिको विश्वासलाई अझै हौसला प्रदान गर्न पनि उनको भ्रमण भएको विष्लेषण त्यसबेला भएको थियो ।

राष्ट्रपतिको भ्रमण हुनु अघि नै नेकपा र चिनियाँ  कम्यूनिष्ट पार्टीबीच राजधानी काठमाडौंमा ‘सि विचारधारा र चीनको आर्थिक विकास’ माथि बृहत अन्तरक्रिया भएका थियो । चीनबाट झण्डै एक सय जना सहभागी नेपाल आएका थिए । सि विचारधाराको नेपालमै प्रशिक्षण हुँदा  त्यसबेला पनि नेकपा र सरकारलाई चीनतर्फ ढल्केको आरोप लागेको थियो ।

चिनियाँ पक्षसंगको ‘इन्गेजमेन्ट’ बढेको अर्को उदाहरण नेपालबाट भइरहेको भ्रमणहरुबाट पनि पुष्टी हुन्छ । अहिले कोरोना संक्रमणका कारण भ्रमण रोकिएको छ । तर, कोरोना संकट सुरु हुनुअघि सम्म हरेक हप्ता जस्तो नेकपाका विभिन्न तहका नेता र कार्यकर्ताहरु चीन भ्रमणमा जाने गर्थे । यसले नेकपा र चीनबीचको बढ्दो हार्दिकता देखाउँछ ।

कम्युनिष्ट पार्टी नेपालमा सरकारमा रहंदा आफूलाई पनि सहज हुने चीन ठान्छ । त्यसैले यहाँको सरकार र पार्टीमा कुनै संकट वा खटपट आउँदा ऊ अलर्ट हुने गर्छ । त्यही अलर्टको संकेतको रुपमा राजदूतका सक्रियतालाई बुझ्न सकिन्छ । अहिले नेकपा संकटमा परिरहदा चीनिया पक्षको भरसक सरकार नफेरियोस् र पार्टी भित्रको विवाद साम्य होस् भन्ने चाहना हुनसक्छ ।

अहिलेको सरकारसंग जसरी विभिन्न योजना र दुईपक्षीय सम्बन्धमा आयामहरु अघिबढेको छन् सरकार फेरिने वित्तिकै त्यसमा केही उतारचढाव आउन सक्छ । हुन त ओली, दाहाल र नेपाल तीन नेतासंग चीनियाहरुको सम्बन्ध राम्रो छ । तर पनि अहिले नक्सा प्रकरणका कारण भारतले अहिलेको सरकारमाथि समस्या खडा गर्न खोजिरहेको बेला अहिलेको सरकार हट्दा राम्रो नहुने खालको बुुझाई चिनियाँहरुसँग छ ।

त्यसैले पार्टी भित्रको विवाद मिलाएर जाने माहोल बनाउनका लागि उनीहरुको सक्रियता बढेको हुन सक्छ । राजदूत होउको आइतबारको भेटघाट यस्तो बेला भएको छ कि नेकपाभित्र केही विवाद मत्थर हुने अवस्थामा छ र स्थायी कमिटिको बैठक सोमबारका लागि बोलाइएको छ ।

Logo