काठमाडौँ । यतिबेला लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि दौडधुप सुरु भएको छ ।
बोर्डका सिइओ आफ्नो कार्यकाल बाँकी छँदै नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि बोर्डको सिइओको कुर्सी खाली छ । अहिले त्यसका लागि एक दर्जन आकांक्षीहरूले दौडधुप गरिरहेका छन् । बोर्डले सिइओका लागि योग्य र इच्छुक व्यक्तिले दरखास्त दिन आह्वान गरेको थियो ।
बोर्डको सिइओका लागि आवेदन दिने अधिकांश आकांक्षीहरु शक्तिशाली नेता निकटका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई प्रधानमन्त्री निकट मानिन्छ । उनलाई राष्ट्र बैंकको गभर्नर बनाउने हल्ला चलिरहेका बेला अर्थमन्त्री डा.युवराज खतिवडाको दबाबमा महाप्रसाद अधिकारी गभर्नर बनेपछि सरकारले डेपुटी गभर्नर शिवाकोटीलाई बोर्डको सिइओको रुपमा ल्याउने हल्ला चलेको थियो । तर डेपुटी गभर्नर शिवाकोटीले आवेदन नै दिएका छैनन् ।
बोर्डको सिइओका आकांक्षीहरुमा सरकारका बहालवाला कर्मचारीदेखि पूर्व कर्मचारी,बैंकर तथा विद्युती क्षेत्रमा विचौलियाको काम गर्ने दालाल समेत रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगमा सदस्य जलविद्युत् क्षेत्रमा दलालको रूपमा काम गर्ने सुशील भट्टल र प्रदेश–१ लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले सिइओको लागि आवेदन दिएको बोर्डले जनाएको छ ।
त्यस्तै, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, विषेश औद्योगिक क्षेत्र (सेज) का पूर्वकार्यकारी निर्देश चण्डिकाप्रसाद भट्ट, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.रमेश पौडेल,नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य रहेको बोर्डले जनाएको छ ।
त्यस्तै, बैंकर तथा माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् । बैंकर शर्मा बैंक व्यवस्थापनसँग विवाद भएपछि केही महिना अघि बाहिरिएका थिए । त्यस्तै, विद्युत् नियमन आयोगबाट राजीनामा दिएका रामकृष्ण खतिवडा, बोर्डमा परामर्शदाताको रूपमा रहेका आषिश गजुरेल तथा शेरजंग कार्की समेतले बोर्डको सिइओका लागि आवेदन दिएको बताइएको छ ।
सुशील ज्ञवाली, सरोज कोइराला र सुशील भट्ट हाल सरकारका बहालवाला कर्मचारी हुन् ।
को को आकांक्षी कुन नेताका निकट ?
पुनर्निर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवाली नेकपा नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल निकट मानिन्छन् । विष्णु पौडेल नेकपाका शक्तिशाली नेता हुन् । उनी ललिता निवास जग्गाको विवादमा परेका थिए । स्रोतका अनुसार सिइओ ज्ञवालीको संभावना बलियो भएको बताइन्छ ।
त्यस्तै, सञ्चय कोषका पूर्वप्रशासक आचार्य नेकपा नेता माधवकुमार नेपाल निकट मानिन्छन् । उनी नेकपा नेता सोमप्रसाद पाण्डेका ज्वाइँ पनि हुन् ।
योजना आयोगमा सदस्य रहेका भट्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । उनी जलविद्युत् क्षेत्रमा नाम चलेका ब्यक्तिको रूपमा चिनिन्छन् । भट्ट, सेनाको हातहतियार खरिद बिक्रीमा समेत संलग्न हुँदै आएको बताइन्छ ।
हालै विद्युत् नियमन आयोगबाट राजीनामा दिएका राधाकृष्ण खतिवडा अर्थमन्त्री खतिवडा निकट मानिन्छन् । अर्थमन्त्रीको निकट भएकोले पनि खतिवडाको संभावना बलियो भएको बताइन्छ ।
महाप्रसाद अधिकारी अर्थमन्त्रीको जोडमा गभर्नर बनाइएको थियो । गभर्नर अअधिकारी पनि खतिवडालाई बोर्डमा ल्याउने लबिङमा लागेको बताइन्छ । त्यसैगरी, बोर्डका गजुरेल पूर्वमाओवादी नेता हरिबोल गजुरेलका भतिजा हुन् । गजुरेललाई पनि पनि शक्तिशाली नेताको साथ छ ।
त्यस्तै सेजका पूर्वकार्यकारी निर्देशक भट्ट नेपाली काँग्रेस निकट मानिन्छन् । बोर्डको नियुक्ति राजनीतिक नियुक्ति हो । अहिले नेपाली कांग्रेस सत्तामा छैन । त्यसकारण पूर्वकार्यकारी निर्देशक भट्टको बोर्डमा सिइओ हुने संभावना निकै कम देखिन्छ । बैंकर सुमन शर्मा भने राजनीतिक नेता निकट भन्दा पनि इमान्दार तथा बैंकिङ क्षेत्रको ज्ञान भएको व्यक्तिकारूपमा चिनिन्छन् ।
यस्ता राजनीतिक चासो भएका पदहरुमा नियुक्ति गर्दा शक्तिशाली मन्त्री तथा नेतासँग निकटले मात्रै नियुक्त पाउने गर्छन् । हालसम्मको अभ्यास हेर्दा त्यहि देखिन्छ । अर्थमन्त्री खतिवडाको इच्छामा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई धितोपत्र बोर्डको सिइओ बनाइएको थियो ।
मन्त्रिपरिषद्ले सिइओ छनोट गर्न अर्थमन्त्री खतिवडाको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र आयोगका पूर्वसदस्य गोविन्द नेपालको समिति गठन गरेको छ । खतिवडा नै सो समतिमा संयोजनक भएपछि उनको हालीमुहाली चल्छ ।
त्यसकारण आँफु निकट रामकृष्ण खतिवडालाई नै बोर्डको सिइओ बनाउने पक्का देखिन्छ । तर, पूर्व माओवादी निकटसँग भागबण्डा मिल्यो भने खतिवडा बोर्डको सिइओ नबन्न पनि सक्छन् ।





























प्रतिक्रिया