काभ्रे ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने सुनिश्चितता पश्चात मात्रै अनुमति दिइने भएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टाइनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाउने जनाएको छ ।
पोष्टले कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमका कारण बढी जनघनत्व भएका काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउने जानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नु पर्ने जनाएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टाइनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने सङ्कट व्यवस्थापन केन्द्र काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । “होम क्वारेन्टाइनमा बस्न चाहनेले भने स्थानीय प्रहरी, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा अनुमति दिइनेछ”, उनले भने ।
तिमल्सिनाका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टाइनसरहको सुविधा भएको बेहोरोसहित होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोके बमोजिमको होम क्वारेन्टाइन सम्बन्धी पालना गर्ने गरी होम क्वारेन्टाइन बस्ने अनुमति दिइने निर्णय गरिएको छ ।
साथै, कतिपय जिल्लामा क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा न्यूनतम मापदण्डसमेत सुविधा नभएकाले सो स्थानमा बस्ने व्यक्ति भाग्ने, बस्न नचाहने तथा विरामी परेका सूचना प्राप्त भएकाले यस जिल्लामा स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड समय समयमा अनुगमन गरी सोको प्रतिवेदन गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउनेसमेत निर्णय भएको छ । विदेशबाट आएकामध्ये आफैँ खर्च बेहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ ।
हाल तेस्रो मुलुकबाट आएका ११४ नागरिक स्थानीय तहका क्वारेन्टाइनमा बसेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा हालसम्म ८४२ बेडको क्वारेन्टाइन तथा धुलिखेल नगरपालिकामा १५, बनेपा नपामा पाँच र पाँचखाल नपामा पाँच बेडको आसोलेसन कक्ष व्यवस्थित गरिएको छ । स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टाइनलाई १०० बेड क्षमताको बनाउने तयारीसँगै हाल रोशी गाउँपालिकाले ११०, तेमाल गाउँपालिकाले १०५, मण्डनदेउपुर नगरले १०० र धुलिखेल नगरले १०० बेडको क्वारेन्टाइन व्यवस्थित गरिसकेको पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले बताए ।
यसैबीच, विभिन्न जिल्लाका क्वारेन्टाइनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि केन्द्र र पोष्टले संयुक्तरुपमा क्वारेन्टाइनलाई हिंसामुक्त बनाउने तयारीमा जुटेका छन् । केन्द्र र पोष्ट जिल्लामा रहेका क्वारेन्टाइन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन आवश्यक तयारीमा जुटेका हुन् । जिल्लामा रहेका क्वारेन्टाइनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको तिमल्सिनाले बताए ।
तिमल्सिनाका अनुसार सबै क्वारेन्टाइनमा व्यक्तिगत सुरक्षाका साथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । क्वारेन्टाइन सुरक्षाको अनुगमन भइरहेको र कडा सुरक्षा रणनीतिबारे योजना बनाइएको केन्द्रले जनाएको छ । हालसम्म काभ्रेपलाञ्चोकका नौ सङ्क्रमितमध्ये छ उपचारपछि घर फर्किएका छन् ।रासस





























प्रतिक्रिया