भक्तपुरमा तालिमप्राप्त जनशक्तिसहित विपद् व्यवस्थापनको तयारी पूरा

भक्तपुरमा तालिमप्राप्त जनशक्तिसहित विपद् व्यवस्थापनको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुन सक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ । कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउन सक्ने बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस सङ्क्रमण रोक्न, क्वारेन्टिन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन हजार ५०० नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पुर्याउने, शङ्कास्पदको पिसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्ने जस्ता कार्य गरेको बताइन् ।

प्रजिअ पाण्डेले भनिन्, “निर्माण भइरहेको हनुमन्ते करिडोर अनुगमन गरी खोला थुनिने सम्भावना भएका ठाउँमा खोलाको अवरोध हटाएका छौं, डुबान हुने क्षेत्रको पहिचान गरी नदीको पानीमाथि आउन नदिन सुरक्षा उपाय अवलम्बन गरेका छौँ, स्थानीय तहसँगको समन्वय, विपद् कोष स्थापना, विपदमा खोज तथा उद्धार लगायतको आवश्यक जनशक्ति र सामग्री तयारी अवस्थामा राखेका छौं ।”

कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन् ।

नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति शिवप्रसाद पौडेलले कोभिड नियन्त्रणमा भक्तपुरले खरिपाटी क्वारेन्टिनको शुरुआतसँगै हालसम्म देशमै उदाहरणीय काम गरिरहेको बताए । उनले भने, “कोभिडसँगै पहिरो र डुबान हुन सक्ने आँकलन गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज तथा उद्धार लगायतका लागि १५ जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेका छौं, डुबानमा परेकाको उद्धार गर्न तीनवटा बोट, लाइफ ज्याकेट र डोरी प्रशस्त मात्रामा राखेका छौँ, पहिरोको जोखिम परेको ठाउँमा ग्याभिङ पर्खाल, तारजाली र ढुङ्गा तयारी अवस्थामा राखेका छौँ ।”

संयुक्त टोलीले लकडाउनका बेला कोरोना सङ्क्रमण देखिएका धुलिखेल र ललितपुरमा समेत पुगेर मृतकको शव व्यवस्थापन गर्नुका साथै सङ्क्रमित बोक्न एम्बुलेन्स मोडिफाइ, भक्तपुर अस्पतालमै पिसीआर सेवा उपलब्ध गराउन, भक्तपुर अस्पतालमा कोभिड उपचारका लागि भवन तयार पार्न, कोरोना भाइरससँग जोडिएका विभिन्न कामहरू उदाहरणीयरूपमा गर्दै आएको छ ।

वि.सं. ०७५ मा हनुमन्ते नदी आसपासमा भएको डुबानले निम्त्याएको क्षतिलाई दोहोरिन नदिन यस वर्ष मनसुनको समयमा विपद्का घटना हुन सक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मनसुन पूूर्वतयारी तथा प्रतिकार्य योजना पारित गर्दै संयुक्त सुरक्षा टोलीले विपद् व्यवस्थापनको तयारी गरेका हुन् । मनसुनको समयमा विपद्का घटना हुन सक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्यसँगै खोज, उद्धारकार्यका लागि तयारी अबस्थामा रहेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले यस वर्ष वर्षा शुरु भए लगत्तै केही दिन अघि भक्तपुरको चुनदेवीमा ढलमा छिरेर बेपत्ता भएका पुरुषको शव तीन दिनपछि ललितपुरमा भेटिएकाले बाढी, पहिरो, डुबान जस्ता विपत्ति रोक्न एवं त्यसबाट हुने क्षति न्यूनीकरण गर्न संयुक्त सुरक्षा टोली तयारी अवस्थामा रहेको बताइन् ।रासस

Logo