ओलीको राजीनामा मागिएपछिका चार विकल्प, प्रधानमन्त्रीले के गर्लान् ?

ओलीको राजीनामा मागिएपछिका चार विकल्प, प्रधानमन्त्रीले के गर्लान् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाको सचिवालयका पाँच जना प्रमुख नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा मागेपछि केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । सरकार हटाउन भारतीय चलखेल भएको भन्दै त्यो चलखेलमा आफ्नै पार्टीका नेताहरुलाई मुछ्न खोजेपछि ओलीमाथि थप संकट चुलिएको हो । अध्यक्ष पुष्पकमल दाहाल , बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितले स्थायी कमिटी बैठकमा औपचारिक रुपमै राजिनामा मागेपछिको परिस्थितिमा प्रधानमन्त्री ओलीले अहिले बिहान मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पटक भेट गरी राजनीतिक परामर्श गरेका ओलीको आगामी कदम के होला ? चासोपूर्वक हेरिएको छ । नेकपाभित्रको अहिलेको समिकरण हेर्दा ओलीका लागि अनुकुल खालको अवस्था छै्रन । तत्कालको स्थितिमा नेकपाभित्रको चर्किएको अन्तर्संघर्ष व्यवस्थापनको विकल्प के हुन सक्छन् ? स्थायी कमिटीको नेताहरुसँगको अनौपचारिक कुराकानीका आधारमा अब सम्भावित चार दृश्यहरु देखिन सक्छन् ।

विकल्प १ : प्रधानमन्त्रीको राजीनामा

नौ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परेका छन् । हिजो नै ५ जनाले औपचारिक रुपमा राजीनामा मागिसकेका छन् । ओलीले हिजो पार्टी बैठकमा दिएको अभिव्यक्तिबाट अन्य नेताहरु विश्वस्त छैनन् । त्यसैले अबको एउटा प्रयास सकेसम्म ओलीलाई पदबाट हटाउने नै भन्नेतर्फ मोडिन सक्छ । यो बिषयमा ओलीसहित मंगलबार १८ जनाले मात्र बोलेका छन् । बोल्ने मध्ये सबै माधव नेपाल र दाहाल पक्षका नेताहरु हुन् । उनीहरुको जोड राजीनामा नै छ ।

विकल्प २ः प्रधानमन्त्री र अध्यक्षको स्पष्ट कार्यविभाजन

आफ्नो पदबाट राजीनामा माग भएपछि अब यो संकट टार्नका लागि स्थायी कमिटीमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको स्पष्ट कार्यविभाजनको कुरा आउन सक्छ । यसअघि गत मंसिरमा पनि ओलीले दाहाललाई कार्यकारी अध्यक्ष दिने र आफू पाँच बर्ष नै प्रधानमन्त्री हुने सहमति भएको थियो । तर ओलीले दाहाललाई दिने भनिएको कार्यकारी अध्यक्षको सबै काम हस्तान्तरण गर्न आनाकानी गरेपछि समस्या आएको हो । त्यसैले अब प्रधानमन्त्री ओली चलाउने र पार्टी अध्यक्षको काम चाहीं दाहालले नै गर्ने गरी ओली अध्यक्षबाट निस्क्रिय बस्ने वा अध्यक्ष पद छोड्ने विकल्प पनि आउन सक्छ । यो विकल्पका लागि ओली पक्षका नेताहरुले माहौल बनाउन खोजिरहेका छन् ।

विकल्प ३ : असन्तुष्ट समूह छिन्नभिन्न पार्ने

नेकपा भित्र अहिले त्रिपक्षीय शक्ति सन्तुलनको अवस्था छ । पहिले ओली र दाहाल मिल्दा नेपाल समुह कमजोर बनेको थियो । अहिले दाहाल र नेपाल मिल्दा ओली कमजोर बनेका छन् । अहिले यो समूहमा बामदेव गौतम पनि मिसिएका छन् । केही अघि सम्म ओली पक्षमा गएका गौतम पनि नेपाल, दाहालको कित्तामा उभिएपछि ओलीको शक्ति झन् क्षीण भएको छ । त्यसैले अब एउटा प्रयास असन्तुष्ट समूहलाई छिन्नभिन्न पार्ने प्रयास ओली पक्षबाट हुन सक्छ । त्यसका लागि उपाध्यक्ष गौतमलाई तत्काल राष्ट्रिय सभामा मानोनित गर्ने र सरकारमा सहभागी गराउने खालको कुरा आउन सक्छ । गौतम यो मामिलामा लोभिए पनि असन्तुष्ट समूह केही छिन्नभिन्न हुन्छ । त्यस्तै दाहाल वा नेपालसँग पनि कुनै सौदाबाजी ओलीले गर्न सक्छन् ।

विकल्प ४ः सबैले कमजोरी सच्याउने, मन्त्रिपरिषद् पुनर्गठन गरी पार्टीको कमाण्डमा सरकार चलाउने सुनिश्चिता गर्ने

ओली र दाहाल, नेपाल समूहबीच विवाद चुलिए पनि पार्टीका शीर्ष नेताहरु मिलेर जानुपर्छ भन्ने ठूलो जमात अहिले पनि नेकपाभित्र निर्णायक भूमिकामा छ । त्यसैले उनीहरु सबैलाई मिलेर जान दबाब पनि आइरहेका छन् । यस्तो दबाब दिनेमा ओलीको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरु पनि छन् । त्यसैले अहिले सम्मका कमि कमजोरीहरुमा आत्मालोचना गर्ने र त्यसको जगमा नयाँ ढंगले अघि बढ्ने हुन सक्छ । त्यसका लागि ओली नै प्रधानमन्त्री रहिरहने तर उनको मन्त्रिपरिषद्मा रहेका सदस्यहरु हेरफेर गर्ने कुरा हुन सक्छ । सरकार र पार्टीको सम्बन्ध जोड्ने कुनै संयन्त्र बनाउने र पार्टीको सुझाव सल्लाहमा सरकार चल्ने खालको व्यवस्था मिलाउने पनि हुनसक्छ । किनकी अहिले ओलीसँगको सबैभन्दा ठूलो असन्तुष्टी नै सरकार चलाउने क्रममा उनले पार्टीलाई वेवास्ता गरे भन्ने कुरामा छ ।

यदि विगतको जस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता र त्यसको व्यवहारिक कार्यान्वयन हुने आधार भेटियो भने मिलेर जाने अवस्था पनि रहन सक्छ । नेकपा भित्र एउटा यथार्थ के हो भने ओली अहिले गणितीय हिसाबले कमजोर देखिए पनि उनको पछी लाग्ने जमात ठूलो छ । जुन जमात पनि नेकपाकै शक्ति हो । त्यस्तै ओली सत्तामा रहँदा भन्दा बाहिर रहँदा अरुका लागि झन् महंगो पर्न सक्छ । किन भने सत्ताबाट बाहिरिएपछि उनी चुप लागेर बस्ने छैनन् । त्यसैले उनको विकल्पमा जो शासकीय वा पार्टी सत्तामा जान्छ त्यसलाई सहज हुदैन । त्यसैले उनलाई नै सच्चाएर पार्टी कमाण्डमा सरकार चल्ने वातावरण बनाउने विकल्पमा नेताहरु जान सक्छन् ।

Logo