काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज पशुपति वनकाली क्षेत्रमा पुगेर त्यहाँ रहेको विश्वरुपा मन्दिरको अवस्थाको निरीक्षण गरेका छन् ।
१ सय ५८ वर्ष पुरानो सो मन्दिर क्षतिग्रस्त र वेवारिसे अवस्थामा रहेको भन्दै सामाजिक संजालमा टिप्पणी आएपछि मन्त्री भट्टराई आफै पशुपति वनकाली पुगि एक हप्ताभित्र मन्दिरमा अस्थायी छानो हालेर घामपानीबाट यसलाई जोगाउन र यसको दीर्घकालीन संरक्षणका लागि तत्काल स्थायी संचरना निर्माण प्रक्रिया थाल्न निर्देशन दिए ।
मन्त्रालयका सचिव केदारबाबु अधिकारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसमेत लाई लिएर पशुपति पुगेका मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई निर्देशन दिदैं भने–‘अर्को हप्ता म फेरी निरीक्षणमा आउँछु, त्यो बेला अस्थायी संचरना निर्माण गरेर यसको उचित संरक्षण गरिएको हुनुपर्छ ।’ साथै, उनले दक्ष कालिगढमार्फत तुरुन्त यसको बिग्रिएको स्वरुप पुरानै स्वरुप र शैलीमा ढाल्न पनि कोषलाई निर्देशन दिए ।
गुम्बज शैलीमा निर्माण गरिएको यो मन्दिर वि सं १९१९ मा जंगबहादुर राणाले स्थापना गरेका हुन् । नेपाल–भोटबीचको युद्ध बाट फर्कने क्रममा बाटोमा भेटिएको भैरवको मुर्ति यस मन्दिरमा स्थापना गरिएकाले यसको ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण विशेषता रहेको बताईन्छ ।





























प्रतिक्रिया