पहिरोले गुल्मीमा ४२ घरपरिवारका २०८ जना विस्थापित

पहिरोले गुल्मीमा ४२ घरपरिवारका २०८ जना विस्थापित

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।

पहिरोका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।

पहिरोको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिन बाध्य बनेका छन् । पहिरोले विस्थापित हुनेमा रेसुङ्गा नगरपालिका–७ बेदुखर्कका १४ घरधुरीका ६४ जना, रेसुङ्गा–९ बूढीचौरका दुई घरधुरीका ६५ जना, इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरधुरीका ६२ जना, कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ्गका तीन घरधुरीका १४ जना र मुसिकोट नगरपालिका–१ तल्लो पौँदीका दुई घरधुरीका तीन व्यक्ति पहिराका कारण विस्थापित बनेका हुन् ।

पहिरोको जोखिमका कारण विस्थापित बनेका मध्ये इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरपरिवारले स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा आश्रय लिएका छन् भने अन्य विस्थापित परिवार भने आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका प्रहरी निरीक्षक रावलले बताए ।

अव्यवस्थितरुपमा सडक निर्माण, सडक निर्माण गर्दा निर्माण व्यवसायीको लापरवाही, सडक छेउछाउमा अलपत्र अवस्थामा राखिएका निर्माण सामग्री र उचित स्थानमा ढल र नालीको व्यवस्थापन नहुनु तथा निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्नु जस्ता समस्याले आएको पहिराले विस्थापित हुनुपरेको पीडितले गुनासो गरेका छन् ।

पहिराले रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो गएपछि रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ को साँघुरे, सत्यवती गाउँपालिका–४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोला लगायतका स्थानमा पहिरो खसेपछि सोमबार अपराह्न सडक अवरुद्ध बनेको हो ।

गत सातादेखि लगातार परेको वर्षाका कारण उक्त सडक खण्डका धेरै भागमा पहिरो जाने र सडक अवरुद्ध हुने गरेका कारण दैनिक चार पटकसम्म डोजरमार्फत पहिरो हटाउने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । रिडीहुँदै बाग्लुङको ढोरपाटन नगरपालिकासम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने गर्दछन् ।

त्यसैगरी सोमबार बिहानदेखि अवरुद्ध बनेको तम्घास–रिडी सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्रको खनियाँरुख नजिकै सडक माथिबाट खसेको पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले बताए । वर्षाका कारण पहिरो खसेसँगै सडक भत्किएपछि जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडक पनि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

Logo