काठमाडौं ।
काठमाडौं महानगरपालिकाको सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए ।
पाँच क्षेत्रमा नीति र त्यस अन्तर्गत विभिन्न शीर्षकमा कार्यनीति गरी २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्धन र करदातालाई सहुलियत जस्ता विषयलाई राखिएको छ ।
काठमाडौँ उपत्यकालाई सिङ्गो समृद्ध शहरका रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने, विकासात्मक काम र वितरण गर्ने सबै खालका सेवालाई सुशासनको प्रत्याभूति दिने गरी सुलभ तथा गुणस्तरीय बनाउन विद्युतीय पद्धतिमा क्रमशः रुपान्तरण गरिने नीतिलाई समग्र नीतिका रुपमा लिइएको छ ।
कामपाको आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने, दिगो एकीकृत विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अनुसरण गर्ने, सहरी व्यवस्थापन र राजस्व प्रशासनका लागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत शहरी नक्सा तथा महानगर सूचना प्रणाली विकास गरिनेछ ।
असल निर्माण अभ्यास (गुड कन्स्ट्रक्शन प्राक्टिस) प्रवर्धनका लागि विभिन्न प्राविधिक, जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिनेछन् । कामपाबाट सञ्चालित जग्गा एकीकरण आयोजनाहरुमध्ये नयाँबजार आयोजना यसै आर्थिक वर्षभित्र तथा चःमती र मनोहरा जग्गा एकीकरण आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ । आर्थिक तथा रोजगारी क्षेत्रअन्तर्गत कृषि खाद्य तथा पशु, सहकारी, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी सामुदायिक साझेदारी नीति अन्तर्गत कार्यनीति पारित भएका छन् ।
यसैगरी सामाजिक विकास अन्तर्गत शिक्षा, जनस्वास्थ्य, महिला बालबालिका, किशोर किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ, संस्कृति तथा सम्पदा, युवा तथा खेलकूद, सामाजिक बिकास, सुरक्षा तथा संरक्षण नीति तय गरिएको छ । शहरी पूर्वाधार तथा योजना विकास क्षेत्रअन्तर्गत सहरी पूर्वाधार विकास, सहरी यातायात व्यवस्थापन, सहरी आवागमन, सूचना तथा सञ्चार, शहरी विकास तथा भवन मापदण्ड रहेका छन् ।
स्वच्छ हावा, स्वस्थ्य जीवन नारालाई सार्थक बनाउन वातावरण तथा फोहरमैला व्यवस्थापन क्षेत्र अन्तर्गत फोहरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्धन कार्यनीति छन् । यस्तै जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन नीतिलाई पनि वार्षिक नीति कार्यक्रममा प्राथमिक क्षेत्रमा राखिएको छ । संस्थागत विकास तथा सुशासन नीति अन्तर्गत संस्थागत तथा मानव संसाधन विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, राजश्व परिचालन तथा वित्तीय व्यवस्थापन नीति र सुशासन तथा सुरक्षा कार्यनीति रहेका छन् । महामारीको विषम परिस्थितिसँग जुध्दै काठमाडौँको ऐतिहासिक, सांस्कृतिक र समुन्नत विरासतलाई वर्तमान र भविष्यसँग जोड्न महानगरले नेतृत्व गर्ने जस्ता कार्यक्रम रहेका छन् ।रासस































प्रतिक्रिया