काभ्रेमा हिंसामुक्त क्वारेन्टाइन बनाइँदै

काभ्रेमा हिंसामुक्त क्वारेन्टाइन बनाइँदै

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

विभिन्न जिल्लाका क्वारेन्टाइनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि सङ्कट व्यवस्थापन केन्द्र काभ्रे र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले संयुक्तरुपमा क्वारेन्टाइनलाई हिंसामुक्त बनाउने तयारी थालेका छन् ।

केन्द्र र पोष्ट काभ्रेमा रहेका क्वारेन्टाइन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन आवश्यक तयारी थालिएको हो । जिल्लाका क्वारेन्टाइन लाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “विशेषतः महिलामाथि हुने हिंसा हुन नदिन सोही अनुसार क्वारेन्टाइन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।”

तिमल्सिनाका अनुसार सबै क्वारेन्टाइनमा व्यक्तिगत सुरक्षाका साथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । “क्वारेन्टाइन सुरक्षाको अनुगमन भइरहेको छ भने कडा सुरक्षा रणनीतिबारे योजना बनाउँदैछौँ”, उनले भने । उनले क्वारेन्टाइन मा बसेकालाई स्वास्थ्य सामग्री उपलब्धतामा समेत प्राथमिकता दिइएको बताए । केन्द्रका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा २९ महिलासहित ८६ जना बसेका छन् ।

यसैबीच, दुई साता अघि काभ्रेका पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि पोष्टले क्वारेन्टाइनको स्वास्थ्य सुरक्षाबारे नियमित अनुगमन गरिरहेको छ । “नियमित अनुगमन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएपछि थप सङ्क्रमण फैलिएको छैन”, पोष्ट सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टाइनलाई १०० कक्ष क्षमताको बनाउने तयारी गरिएको हो ।

साथै, तेस्रो मुलुकबाट काभ्रे फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलस्थित धुलिखेल क्याम्पसमा ७५ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिएको छ । यस क्वारेन्टाइनमा हाल स्वाब सङ्कलन बुथसमेत राखिएको छ । काभ्रेमा हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०३ बेडको क्वारेन्टाइन व्यवस्थित गरिएको छ । आठ बेडको धुलिखेलमा १५ र पाँच बेडको शिरमेमोरियलमा १० बेड आइसोलेन कक्ष बनाउने तथा मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलस्थित विद्यालयमा दश÷दश बेड आइसोलेशन बेड व्यवस्थित बनाउन लागिएको पोष्टले जनाएको छ ।

हाल तेस्रो मुलकबाट काभ्रेली फर्किरहेका छन् । विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एक हजार १२५ भारतमा बस्दै आएका हुन् । विदेशबाट आउने पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा बसाई तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने संक्रमण नदेखिएकालाई ‘होम क्वारेन्टाइन’ मा बसाइने झाले बताए । उनका अनुसार विदेशबाट आएकामध्ये आफैँ खर्च बेहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टाइनमा राख्ने तयारीसमेत गरिएको छ ।रासस

Skip This
Skip This
Logo