काठमाडाैं। नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि जोर विजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ आजदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने विज्ञप्ति जारी गर्दै उल्लेख गरेका हुन् ।
उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू हुने जनाइएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालका अनुसार शुक्रबारदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र सञ्चालन गर्न पाईने बताएका छन् ।
उनले नयाँ व्यवस्थाअनुसार ४ पाङ्गे सवारीमा चालकसहित ३ जना, २ पाङ्गे सवारी (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाईने छ । जोर विजोर प्रणालीमा जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी चलाउन पाइने महाशाखाले जनाएको छ । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ ।
त्यस्तै कुनै पनि कालो नम्वर प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो बस, हाईस, ट्याक्सी र ट्याम्पो भने चलाउन पाइने छैन । यस अघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चलाउनु पर्ने महाशाखाले उल्लेख गरेको छ । महाशाखाका प्रमुख ढकालले गत चैत्र ११ गतेदेखि गरिएको लकडाउन पूर्ण रूपमा पालना गरेकोमा काठमाडांै उपत्यकाबासी तथा आम नागरिकहरूलाई धन्यवाद दिएका छन् । साथै उनले शुक्रबारदेखि लागू हुने नयाँ व्यवस्थालाई पनि अनुशासित भई पूर्ण रूपमा पालन गर्न समेत अनुरोध गरेका छन् ।
त्यस्तैगरी अत्यावश्यक काम बाहेक जोर विजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउनेमाथि जाँचमा खटिएका ट्राफिक प्रहरीले नियमानुसार कारबाही गर्ने महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिनुपर्ने बताए ।





























प्रतिक्रिया