काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
रुपन्देही क्षेत्र नं २ का सङ्घीय सांसदसमेत रहेका नेता पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीपूर्ण एवं विभत्स हत्या भएकाले सो घटनाको विरोध गरेका हुन् ।
“यस हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छु”, विज्ञप्तिमा उनले भनेका छन् , “समाजमा डरलाग्दो ढङ्गले देखा परिरहेको यस प्रकारको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।”
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग
राष्ट्रियसभाका सदस्यले पनि पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देही लगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
उनले भने,“रुकुमको घटना सेलाउन नपाउँदै गए राति अर्को विभत्स र कहालीलाग्दो सामूहिक हत्या भएको छ, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको कृष्ण पुनको पशु फाराममा काम गर्ने श्रमिकहरु र सोही ठाउँमा बस्ने माधव मुसहर, उनकी श्रीमती जानकी लगायत पाँच जनाको हत्या भएको छ, त्यस घटनाको छानबिन गरी कारवाही गरियोस् ।”
नेकपाकै तारामान स्वाँरले कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी मात्रै विकल्प हुन नसक्ने बताउँदै स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।





























प्रतिक्रिया