काभ्रे ।
तेस्रो मुलुकबाट काभ्रेका नागरिक फर्कन थालेका छन् । पहिलो चरणमा गत शुक्रबार युएईबाट एक महिलासहित तीन काभ्रेली फर्किएका हुन् । विदेशबाट फर्किए लगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदेशको ‘होल्डिङ सेन्टर’ बसेकालाई तीनै जनालाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइएको थियो । पनौनी नगरपालिकाका एक महिला, नमोबुद्ध नपाको एक र रोशी गाउँपालिकाका एक जना फर्किएका हुन् ।
उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार आउँदो असार २ गते दोस्रो चरणमा काभ्रेका नागरिक फर्कने जानकारी आएको छ ।
केन्द्रले धुलिखेल नपाको सवारी साधनले होल्डिङ सेन्टरबाट जिल्लाका नागरिक धुलिखेलसम्म ल्याउने र धुलिखेलबाट स्थानीय तहका जनप्रतिनिधिले स्थानीय क्वारेन्टाइनमा लगेर राख्ने प्रणाली बनाएको छ । “हामीले होटलमा बस्न चाहनेलाई सोही अनुसार र अन्यलाई स्थानीय तहको क्वारेन्टाइन पठाउनेछौँ” तिमल्सिनाले भने । उनका अनुसार विदेशबाट आएकामध्ये आफैँ खर्च बेहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हो ।
पछिल्लो दुई हप्तामा भारतबाट १२० नागरिक जिल्ला फर्किए । उनीहरु सबैजना हाल स्थानीय क्वारेन्टाइनमै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जनाएको छ । भारतबाट फर्किएमध्ये एक महिलासहित चार जनालाई कोरोना भाइरस पोजेटिभ देखियो । भारतबाट आएकासमेत गरी हालसम्म दुई महिलासहित पाँच कोरोना सङ्क्रमित छन् । मजदुरी लगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ जना भारतमा बस्दै आएको तथ्याङ्क छ ।
नेपाल–भारत सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पुर्याउन स्पष्ट ठेगानासहित सूचना आदानप्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ । पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले विदेशबाट आउने पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टाइन’मा बसाइने बताए ।
स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई १०० शैयाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । हाल १३ स्थानीय तह लगायत संघसंस्थामा ६७४ शैयाको क्वारेन्टाइन व्यवस्थित छन् । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइन र थप सात दिन होम क्वारेन्टाइनमा राख्नु पर्ने प्रावधान उल्लेख छ । तेस्रो मुलुकबाट काभ्रेली आउने भएपछि स्थानीय तहको क्वारेन्टाइन थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्न थालिएको प्रजिअ तिमल्सिनाले बताए । भारत लगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ ।रासस





























प्रतिक्रिया