काठमाडौं ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमशः सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहेका नारायणप्रसाद विडारीले आर्थिक क्रियाकलापहरु, बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लगायतका क्षेत्रहरुलाई क्रमशः सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको बताए ।
आज उक्त मस्यौदामाथि कुनै निर्णय नभएको र फेरी बैठक बसेर निर्णयमा पुगिने उनले बताए । उनले विभिन्न औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताए ।
पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् । समितिले भोलि आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त मस्यौता पठाउने तयारी गरिरहेको छ ।





























प्रतिक्रिया