भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक कति ?

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक कति ?


नयाँ दिल्ली ।

गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ जना पुगेको छ । यसका संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँ मात्र ३५ हजार ५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ संक्रमति रहेका छन् ।

भारतमा लकडाउनको ५६ औं दिन

भारतमा गरिएको लकडाउनको आज ५६ औं दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनलाई मे ३१ सम्म लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताएका छन् । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिन यता संक्रमणको बृद्धिदर उच्च देखिएको छ ।रासस/एएनआई

Logo