काठमाडौं ।
कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी) ले गरेको छ ।
कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने अनुमान एडिबीको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रहँदा यो स्तरको क्षति हुनेछ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपालमा हुने आर्थिक क्षति एसियाली मुलुकमध्ये सबैभन्दा बढी हो ।
अन्य दक्षिण एसियाली मुलुकहरू भारतमा जिडिपीको ६ प्रतिशत, बंगलादेशमा ६ दशमलव ६ प्रतिशत, पाकिस्तानमा ५ दशमलव १ प्रतिशत र श्रीलंकामा ६ प्रतिशतसम्म कोरोनाका कारण क्षति हुने अनुमान एडिबीको छ ।
एसियाली मुलुकमध्ये नेपालपछि सबैभन्दा गम्भीर आर्थिक क्षति दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशत र चीनमा ११ दशमलव २ प्रतिशत हुने अनुमान एडिबीको छ । तर, कोरोनाको रोकथाम ३ महिनामै भयो र सरकारहरूले ठोस नीतिगत पहल गरे क्षति कम हुन सक्ने पनि एडिबीको अनुमान छ ।
कोरोना सुरु भएको तीन महिनाभित्रै रोकथाम भएको अवस्थामा नेपालमा क्षति जिडिपीको ७ दशमलव ९ प्रतिशत अर्थात् २ खर्ब ५४ अर्ब रुपैयाँ हुने अनुमान एडिबीको छ । तर, नेपालमा कोरोनाको तीव्र विस्तार हालै मात्रै भएको र लकडाउनकै अवधि तेस्रो महिना सुरु हुन लागेकाले तीन महिनामा प्रभाव रोकथामको सम्भावना छैन ।नयाँ पत्रिकाबाट































प्रतिक्रिया