काठमाडौँको सतुङ्गल बस्ने कोरोना भाइरस संक्रमित ७ वर्षीय बालकको सम्पर्कमा आएका ६ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। बालकको ट्राभल हिस्ट्री समेत रहेको मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ आग्राका ६ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको हो।
‘बालकको घर र उनी केही दिन बसेको उनकै मामा घर परिवारका ६ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब उनीहरुलाई पिसिआर परीक्षणका लागि हेटौंडा पठाउने तयारी भैरहेको जानकारी गराउँछौं ।’ थाहा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
यस विषय केन्द्रबिन्दुले शनिबार बिहान समाचार प्रकाशन गरेपछि थाहा नगरपालिकाले कन्ट्याक्ट ट्रेसीङ् शुरू गरेको थियो । बालक र उनकी आमा पालुङ–२ हुँदै तरकारी बोक्ने गाडीमा यात्रा गरी सतुंगल पुगेको र बालकको परीक्षणको क्रममा कोभिड–१९ देखा परेको पुष्टि भएको थियो । उनको आमाको पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ आएको राष्ट्रिय प्रयोगशालाले जनाएको छ ।
संक्रमित बालकको परिवार वैशाख ३० गते राति साढे १० बजे काठमाडौं आइपुगेका थिए। केन्द्रबिन्दुसँगको कुराकानीमा बालकका आमाले आफूहरु नौबीसेको बाटो भएर आएको भएपनि बाटोमा नरोकिएको बताएकी छन् । उनले आफूहरू साँझ ६ बजे पालुङबाट निशान गाडी चढेको जानकारी दिइन् । उनले आफूहरु चैत १९ गते गाउँ गएको जानकारी दिँदै पालुङमा आफ्नो घर र माइतबाहेक अन्यत्र नगएको बताइन् ।
बालकको परिवार चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा वडा कार्यालयनजिकै बस्दै आएका छन्। लकडाउनको समयमा गाउँ गएर फर्केको थाहा पाएपछि आफूहरूले परिक्षण गर्न लगाएको वडाध्यक्ष गोपालकृष्ण महर्जनले जानकारी दिए । परिक्षणमा नतिजा पोजिटिभ आउने वितिक्कै अस्पताल पठाईएको उनले बताए।
संक्रमित बालकको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ।
यो पनि































प्रतिक्रिया