दार्चुला,
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको छाङरुमा सरकारले सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्मनै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको हो ।
सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ ।
गुल्मका लागि अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त भइसकेको छ । गृह मन्त्रालयबाट बहुवर्षीय योजना अनुरुप संरचना निर्माणका लागि ११ करोड रुपैंयाँ विनियोजन गरिसकिएको छ । लकडाउन लगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा इन्द्रजीत राईले जानकारी दिए ।
सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले गुल्मका लागि प्राप्त जग्गाको बिहीबार स्थलगतरूपमा पुगेर आवश्यक नापजाँच गरेको छ । बाह्रै महिना चिसो हुने र जाडोको समयमा अत्याधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिनेछ ।
सन् १९६२ मा भारत–चीनसँगको द्वन्द्वका बेला कालापानी लगायत क्षेत्रमा भारतले सेना प्रवेश गराएको थियो । त्यो बेला राखिएको सेना अझै कालापानीमा छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार तिङकर र छाङ्रु नेपालमा छ भने नेपालको तिकु र गुञ्जी भारतीय नियन्त्रणमा छ । भारतले काली नाघेर कालापानी तल भएर बग्ने अर्को नदीलाई कालीको नाम दिई सीमा नदी बनाएर विवाद निकाल्दै आएको छ । सरकारले शुक्रबारको नीति तथा कार्यक्रममा भारतले मिचेको जग्गा समेटेर नक्सा बनाउने घोषणा गरेको छ ।
भारतले महाकाली नदी किनारैकिनार सडक बनाएर गुञ्जी, कालापानी, हुँदै लिपुभञ्जाङ पु¥याएको छ । तर नेपालतर्फ कुनै प्रयास छैन । यहाँको व्यास गाउँपालिका–१ छाङ्रुमा ११५ घरधुरी छ । १० किलोमिटर पर रहेको तिङ्करमा ६८ घरधुरी छ । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसंख्या रहेका छन् । यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ । दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङ्रुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । सरकारले यहाँ भएर तिङ्कर जाने ८७ किलोमिटर सडक नेपाली सेनालाई बनाउन जिम्मा दिने निर्णय गरेकाले केही आशा पलाएको छ ।





























प्रतिक्रिया