राज्यलाई अफ्ठ्यारोे परे सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको आग्रह

राज्यलाई अफ्ठ्यारोे परे सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको आग्रह


काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यलाई अफ्यारो परे राज्यले आफूलाई दिएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । राष्ट्रिय सभा सांसद श्रेष्ठले बुधबार ट्वीट गर्दै सो आग्रह गरेका हुन् ।

उनले आफूले खतरा महशुस नगरेको भन्दै पहिलेदेखि नै पछुवा सुरक्षाकर्मी नलिएको उल्लेख गरेका छन् । साथै, आफ्नो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्णं हुने उनको भनाइ छ । ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महशुस गरेको छैन’–उनले ट्वीटरमा लेखेका छन्–‘राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना ।’

त्यस्तै उनले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र पेट्रोल खर्च शुरुदेखि नै नलिएको बताएका छन् । तर, चुनावमा सुरक्षाकर्मीको अनुरोधमा सुरक्षाकर्मी राखेको उनकाे भनाइ छ । ‘सुरक्षाका कारणले मैले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिईन’–उनले ट्वीटरमा लेखेका छन्–‘सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’

Logo