आउला त असारसम्म मेलम्चीको पानी काठमाडौं ?

आउला त असारसम्म मेलम्चीको पानी काठमाडौं ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ ।

‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणस्थलमा झण्डै ४०० कामदार कार्यरत छन् । सरकारले निर्माणजन्य उद्योग खुलाउने निर्णय गरेसँगै अहिले निर्माणस्थलमा आवश्यक सामग्रीको समेत अभाव छैन । लक्ष्य अनुसार आगामी असारमा काठमाडौंमा पानी झार्नका लागि निर्माण कम्पनीलाई कामदार थप गर्न लगाइएको सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए । प्रशासनको सहयोगमा आवश्यक निर्माण सामग्री निर्माणस्थलमा ल्याइएको उनले बताए । उनले भने, “अहिले काम गर्न कामदार, सामान र उपकरण कुनै कुराको समस्या छैन ।”

लकडाउन लगत्तै कतिपय कामदार निर्माणस्थल छाडेर घर फर्किएका थिए । यहाँका चिनियाँ कामदार र घर जान नसकेका नेपाली कामदारले थोरै काम अघि बढाएका थिए । गत महिना नै मन्त्रिपरिषद्ले तामाकोशी जलविद्युत् आयोजनासँगै यो आयोजनालाई अघि बढाउने निर्णय गरेसँगै अहिले प्रशासनले सवारी पास उपलब्ध गराउनेलगायत आवश्यक समन्वय गरिरहेको छ । यहाँको स्थानीय तहले पहिले काम शुरु गर्दा चहलपहल बढ्ने भन्दै विरोध गरे पनि अहिले सहयोग गरिरहेको उनले बताए । उनले भने, “आयोजना चाँडो सम्पन्न हुँदा यहाँको स्थानीय तहले पनि पाउने फाइदा चाँडो पाउँछन् ।”

अब झण्डै ४५ दिनको काम बाँकी रहेको प्रमुख डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । नियमितरुपमा अहिले जसरी नै काम गर्ने वातावरण हुँदा असारसम्म पानी झारेर परीक्षण गर्न सकिनेछ । उनले भने, “असारसम्म सकिने सम्भावना भएकाले कम्पनीलाई मान्छे थप्न भनिएको थियो ।”

निर्माणस्थलमा रहेका कामदार बाहिर भित्र नगर्ने हुँदा स्वास्थ्य सुरक्षाको समस्या नरहेको उनले बताए। दुई महिना पहिले यहाँ कार्यरत परियोजना निर्देशक लगायत चिनियाँ कामदार स्वदेश गएका थिए । उनीहरु नेपाल फर्किएपछि दुई साता क्वारेन्टाइनमा बसेर अहिले उनीहरु काममा लागेका छन् । त्यस्तै, यहाँ पहिले काम गरेका दोलखाका कामदार फर्किएपछि नयाँ कामदारलाई स्वास्थ्य सावधानी अपनाएर निर्माणस्थल लगिएको छ । निर्माण कम्पनीले बाहिरबाट जाने आगन्तुकको पनि परीक्षण गराएरमात्रै गेटभित्र प्रवेश गराएको उनले बताए। स्थानीय तहले परीक्षण गरेपछि मात्रै उनीहरु साइटमा गएका छन् । उनले भने, “केही दिन पहिले ४० जना कामदारको मेलम्ची नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो ।”

यस अघि नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण भइसकेको छ । हेडबक्समा तत्कालका लागि नगरी नहुने काम भएको श्रेष्ठले बताए । उनका अनुसार ‘हेडबक्स’ निर्माणको अवधि आगामी डिसेम्बरसम्म रहेकाले अहिले प्राथमिकता दिनु नपरेको उनले बताए ।

यस अघि कार्यरत इटालियन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी अहिले झण्डै ४०० ले काम गर्दै आएका छन् । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।रासस

Logo