काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषयलाई संसदमा उठाउने भएको छ । नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिने बताउदै आएको बर्तमान सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पुर्याउन दबाब दिनका लागि कांग्रेसले यो विषयलाई संसदको विषय बनाउने भएको हो । आइतबार बिहान कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा कांग्रेसले आइतबारकै संसद बैठकमा कुरा उठाउने बताए । उनले भारतले नेपालको भूमि लिपूलेक हुँदै चीन तिब्बतमा रहेको मानसरोवर जाने गरी सडक निर्माण गरेको विषयमा कुटनीतिक पहल अगाडि बढाउनु पर्ने बताए ।
उनले भने ‘हामी त यसमा कुरा उठाउँछौं । सदनमा नै कुरा उठाउछौं । यसको बारेमा सरकार अलि संवेदनशिल हुनु पर्यो । यो चानचुने कुरा होइन । हाम्रो भूभाग अरु कसैले हस्तक्षेप गर्छ भने त त्यो हामीलाई स्वीकार्य हँदैन । तसर्थ हामीले भारत र चाइनासँग पनि कुरा गरेर सरकारले नै कुरा गर्नुपर्ने हो । यो विषयमा कि उनीहरुले दुई वटै देशसँग कुरा गरेर यो विषयलाई सबैभन्दा पहिले टुंगो लगाउनु पर्यो । हाम्रो जग्गामा उनीहरुले बाटो बनाउन मिल्दैन ।
महामन्त्री कोइरालाले नेपालको भूमि अतिक्रमण गरी सडक बनाउने विषय अत्यन्त संवेदनशिल भएकाले एक इन्च पनि आफ्नो भूमि अरुलाई दिन नहुने तर्फ सरकार संवेदनशिल हुनुपर्ने बताए । यो विषयमा भारतसँग मात्रै नभई चीनसँग समेत कुरा गर्नुपर्ने उनले बताए । शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि सीमा विवाद पुनः बहसको विषय बनेको छ ।





























प्रतिक्रिया