खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

केन्द्रबिन्दु
0
Shares

संखुवासभा ।

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी राख्दा समस्या उत्पन्न भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा हाल १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन् । कारागार ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ समेत छैन । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्न र शौच गर्नसमेत समस्या हुने गरेको कारागारका चौकीदार परशुराम राईले बताए ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्नको लागि सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्ता गर्दै आएको छ । भौतिक संरचना पर्याप्त नहुँदा कैदीबन्दीले बर्खायाममा पानी चुहिने छाप्रोमा खाना खानुपर्ने बाध्यता रहेको कैदी धनबहादुर खालिङको गुनासो छ ।

कारागारमा आपतकालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको जग्गा भिरालो र व्यक्तिको नाममा भएकाले सडक बनाउन समेत कठिन छ । रासस

Logo